काठमाडौं ।
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिग तेस्रो स्थानबाट सकाएको छ। आफ्नो अन्तिम खेलमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ३–१ ले हराएपछि तेस्रो स्थानमा रहेको हो। संकटाको २२ खेलमा ४५ अंक छ । पराजित एपीएफ समान खेलबाट ३२ अंकका साथ छैटौं स्थानमा रह्यो।
मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन सुदीप लामा, दिलान लिम्बु र कृष्णबहादुर आलेले गोल गरेका थिए । एपिएफका लागि सुनिल थिङले गोल गरे।
खेलको १८औं मिनेटमा सुनिलको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । तर यो अग्रता एपीएफले दोस्रो हाफमा जोगाउन सकेन । सुदीपले ६२औं मिनेटमा संकटाका लागि बराबरी गोल फर्काए। आठ मिनेटपछि नै दिलानले गोल गर्दा संकटा २–१ ले अगाडि बढ्यो । निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा कृष्णले गोल गर्दै संकटालाई ३–१ को पुनरागमन जित दिलाए।
च्याम्पियन पुलिस अन्तिम खेलमा पराजित
एन्फा यू १८ को विजेता बनिसकेको नेपाल पुलिस क्लब उनीहरुको अन्तिम खेलमा पराजित भएको छ। न्युरोड टिम (एनआरटी) ले पुलिसलाई २–१ ले हराएको हो । पुलिसले २२ खेलमा ४८ अंक जोडेर प्रतियोगिताको अन्त्य गरेको छ। जित दर्ता गरेको एनआरटीले समान खेलबाट ४७ अंकका साथ दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ।
मंगलबार सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन पुकार गोले र अर्जित तामाङले गोल गरे। पुलिसका लागि सुवास बमले गोल गरे । खेलको नवौं मिनेटमा सुवासको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा पुकारले एनआरटीका लागि बराबरी गोल फर्काए।
अर्जितले ५४औं मिनेटमा गोल गर्दा एनआरटी २–१ ले अगाडि बढ्यो। इन्जुरी समयमा जोन विष्टले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि पुलिस १० खेलाडीमा समेटिएको थियो।











प्रतिक्रिया