राम्रो गर्न ब्याडमिन्टनको छुट्टै हलको आवश्यकता

658
Shares

काठमाडौं ।

भर्खरै काठमाडौंमा नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो। सिनियर र जुनियर गरी दुई प्रतियोगिता भएको हो । तर, नेपालमै भएको प्रतियोगितामा पनि नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन।

सिनियर प्रतियोगितामा रसिला महर्जन र प्रिन्स दाहालको जोडीले मिक्स डबल्समा कांस्य पदक जित्नुबाहेक आयोजक नेपाललाई कुनै ठूलो उपलब्धि भएन।

सिनियर प्रतियोगितामा त रसिला र प्रिन्स एकल प्रतिस्पर्धामा पहिलो चरणबाट माथि जानै सकेनन्। नेपालका नम्बर एक खेलाडी प्रिन्स पुरुष एकलतर्फ पहिलो चरणमा भारतका कबिन थांगमसँग २२–२०, १२–२१, १३–२१ ले पराजित भएका हुन् । ओलम्पियन खेलाडी प्रिन्सले पहिलो सेट त जितेकै थिए तर, दोस्रो र तेस्रो सेटमा भने उनको केही लागेन ।

यसैगरी महिलातर्फ नेपालकी नम्बर एक रसिला पनि भारतीय खेलाडीसँगैं पराजित भइन्। पहिलो चरणको महिला एकलको खेलमा रसिला भारतकी अदिती भट्टसँग ११–२१, १४–२१ ले पराजित भएकी थिइन्।

जुनियरतर्फ त भारतीय खेलाडीको वर्चश्व नै रहे, यस विधामा नेपाली खेलाडीको प्रदर्शन उनीहरु सामु कमजोर नै भयो। यस प्रतियोगितामा विदेशका धेरै उच्चस्तरका खेलाडी आएकोले नेपाली खेलाडी त्यसस्तरमा खेल्न नसकेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले बताउनुभयो—यो ठूलो प्रतियोगिता हो । यसमा विश्व ब्याडमिन्टनका शीर्ष ३० भन्दाबाहिरका उच्चस्तरका खेलाडी आएका छन् । हाम्रा खेलाडीले खेलेकै हो । धेरै टप लेभलका खेलाडी आएकाले नेपाली खेलाडीको प्रदर्शन कमजोर देखिएको होला। नत्र भने एक हिसाबले हेर्ने हो भने हामीले सिक्ने मौका धेरै पाएका छौं। आगामी दिनमा खेलाडीलाई त्यही स्तरको प्रशिक्षण दिएर तयार गराउने छौं।

अध्यक्ष श्रेष्ठले ब्याडमिन्टनका लागि छुट्टै कभर्ड हल नभएको पनि समस्या बताउनुभयो । उहाँले भन्नुभयो-हामीसँग ब्याडमिन्टनको तयारी गर्न छुट्टै कभर्ड हल छैन । हामीले राखेपको कभर्ड हलमा केही प्रशिक्षण गराउँछौ । अर्को क्लबहरुमा गराउँछौं । जबसम्म हामीसँग आफ्नै कभर्ड हल हुँदैन, तबसम्म हामीले २४ सै घण्टा प्रशिक्षण गराउन सकिँदैन । यसको लागि सरकारले कभर्ड हल बनाइदिन पहल पनि गर्नुपर्छ ।

उहाँले तयारीबारे बताउनुभयो-खेलाडीको तयारी भनेको प्रतियोगिताहरु नै हो । उनीहरुलाई प्रशिक्षण दिने भनेर त्यति दबाब पनि दिन सकिँदैन । उनीहरु चोटपटक लाग्ने भएमा प्रतियोगितामा खेल्न पाउने छैनन् । विदेशमा पनि प्रतियोगिताहरुलाई नै तयारीको रुपमा लिइन्छ ।