काठमाडौं ।
हरर फ्यामली ड्रामा ममीको टिजर रिलिज गरिएको छ। फिल्मले परिवारको प्रिय कुकुरको निधनपश्चात् छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्दछ।
टिजरले दर्शकलाई अपेक्षाअनुसारको हरर अनुभव दिने संकेत देखाएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारले अभिनय गरेका छन्। सो ट्वाइन्टी फाइभको व्यानरमा लोकराज जोशी र पूर्णिमा जोशीद्वारा निर्मित फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ।
फिल्मको कथाअनुसार परिवारको प्रिय कुकुरको निधनपछि सपनाकी छोरीले एउटा कालो बिरालो पाल्छिन्। त्यसपछि परिवारमा डरलाग्दा र अनौठा घटना हुन थाल्छन्। छोरीको दुःखद मृत्यु हुन्छ। शोक भुल्न उनी र उनका श्रीमान् बोध जंगलको एकान्त फार्महाउसमा जान्छन्।
बोधले सपनालाई डर र चिन्ताको सामना गर्न लगाएर उनको शोकलाई हटाउने प्रयास गर्छन्। यस क्रममा सपना आफ्नो अतीत सम्झन थाल्छिन्। केही डरलाग्दा र लुकेका घटना पत्ता लगाउँछिन्, जसले परिवारलाई टुटफुटको अवस्थामा पुर्याउन सक्छ। फिल्ममा छायांकन निशाल पौडेल र शरद महतो तथा सम्पादन सुरेन महर्जनको रहेको छ।











प्रतिक्रिया