पुलिस यू १८ युथ लिग च्याम्पियन


काठमाडौं ।

विभागीय टोली नेपाल पुलिस फुटबल क्लब ललित स्मृति एन्फा यू १८ युथ लिगको च्याम्पियन बनेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा पुलिसले चर्च ब्वाइज यूनाइटेडविरुद्ध २–१ को जित निकाल्यो। यो जितसँगै पुलिस एक खेलअगावै लिग च्याम्पियनसमेत बनेको हो।

पुलिस युथ फुटबल लिगमा च्याम्पियन हुने तेस्रो टोली बनेको छ। अघिल्ला संस्करणमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लबले समान दुईपटक लिग उपाधि जितेका हुन्।

पुलिसले २१ खेलमा ४८ अंक जोडेको छ । यो दोस्रो स्थानको एनआरटीको भन्दा सात अंक बढी रहेको छ। पुलिसलाई जित दिलाउन विक्रम गौतम र कप्तान सुवास बमले गोल गरे। चर्च ब्वाइजका लागि स्वयम पाख्रिन लामाले एक गोल गरेका थिए।

खेल शुरू भएको २८ सेकेन्डमै विक्रमको गोलमार्फत पुलिसले अग्रता लिएको थियो। ४४औं मिनेटमा सुवासले टोलीको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा स्वयमले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, अर्को गोल गर्न नसकेपछि त्यो पर्याप्त हुन सकेन।

Skip This