तामाङ संस्कार, संस्कृति र संरक्षण

1.6k
Shares

तामाङ जाति नेपालका विभिन्न आदिवासी जनजातिहरूमध्ये आफ्नै साझा भूगोल भएको प्राचीन जातिहरूमध्ये एक जाति हो । तामाङहरूको साझा भूगोललाई ताम्सालिङ भन्ने गरिन्छ । यो जातिले काठमाडौं उपत्यकालाई आफ्नो प्राचीन मूलथलो मान्दछ । नेपाल सरकारले सूचीकृत गरेका विभिन्न ५९ आदिवासी जनजातिहरूमध्ये तामाङ पनि पर्दछ । आफ्नै भूगोल, धर्म, इतिहास, भाषा, भेषभूषा, रहनसहन, सामाजिक संरचना, संस्कार एवं सांस्कृतिक मान्यता रहेको तामाङ जातिको मुख्य बसोबास क्षेत्र काठमाडौं उपत्यका र यसको आसपासका जिल्लाहरू रसुवा, मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली हो ।तामाङहरू नेपालबाहेक भारतको सिक्किम, दार्जिलिङ, आसाम, नागाल्यान्डका साथै भुटान र बर्मालगायत मुलुकमा बसोबास गर्दछन् ।तामाङजातिको जनसंख्या २० लाखभन्दा बढी रहेको छ । तामाङ जातिलाई चिनाउने सशक्त माध्यम भाषा नै हो । नेपालको विभिन्न जीवित भाषाहरूमध्ये तामाङ भाषा अन्य भाषाको तुलनामा निकै अगाडि छ । तामाङ भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । तामाङ जाति बौद्ध धर्म मान्दछन्, त्यसैले तामाङ जातिको जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्म बौद्ध दर्शनबाट निर्देशित भएको छ ।

तामाङ समाजमा जन्म

तामाङ समुदायमा सामान्यतः बालक जन्मेको तीन दिनपछि नै न्वारन गरिन्छ । अधिकांश तामाङले लामागुरुबाट बौद्ध धर्मशास्त्रअनुसार नै न्वारान गरि बच्चाको नामकरण गराउने चलन छ । छैठीको दिन सुत्केरी आमा र बच्चालाई नुवाइधुवाइ गराएर कोठामा चोखो पानी छर्किने र दियो बाल्ने चलन पनि छ । छोरीलाई ५ महिनामा र छोरालाई ६ महिनामा पास्नी गराइन्छ । जेठो छोरा वा छोरीको भात खुवाई मैना चराको चुच्चोबाट गराउन सके चराजस्तै मीठो बोली बोल्ने विश्वास अभैm पनि छ । तामाङहरूमा भात खुवाइको अवसरमा आफ्ना नातागोता र छिमेकीले बच्चालाई उपहारको साथै रुपैयाँ, पैसा दिने र मीठोमीठो पक्वान्न बनाई लगिदिने प्रथा पनि चलनचल्तीमा छ । तामाङहरूको छेवर मामाबाट गराइन्छ । छेवर ३ वर्षदेखि १३ वर्षसम्म जुनबेला गरे पनि हुन्छ । यो अवसरमा चेलीबेटीले दही, खसी, रक्सी, सेलरोटी, कुखुरा आदि कोसेली ल्याएर सघाउने चलन छ । बच्चाका आमाबाबुले आफ्ना चेलीबेटीलाई गच्छेअनुसार दक्षिणा दिन्छन् र निम्तालुहरू नाचगान गरी रमाइलो गर्दछन् ।

तामाङहरूको परम्परागत गाउँ संगठनमा सात सदस्य हुन्छन्, जस्तो चोहो (अध्यक्ष), मुल्मी (गाउँको मुखिया), ङाप्ता (लामा, पुरोहित), डोप्ता (साधु) आला (ठालु), ताम्बा (वंशावली जान्ने व्यक्ति) अनि गुरमी गोडाई अर्थात् सचिव । गाउँको ठालुलाई मुखिया भनेभैmँ तामाङहरूको सामाजिक जीवनमा मुल्मी एक महत्वपूर्ण पद हो । मुल्मीको स्थान एक व्यक्तिले लिएपछि अर्को व्यक्तिको पालो आउँछ । साधारणतः हरेक वर्षको संसारी वा भूमि पूजाको निमित्त मुल्मी चुनिन्छन् । पहिलेपहिले सरकारी मालपोत उठाउने काम पनि मुल्मीको जिम्मामै हुन्थ्यो । स–साना भैmझगडा मिलाउने र पुर्पक्ष गर्ने काम मुल्मीले नै गर्थे । यस समुदायले प्रयोग गर्ने गहनाहरूमध्ये कर्ण पूmल, ढुंग्री र शिरपूmल तामाङहरूबीच लोकप्रिय थिए । विवाहित महिलाहरूले पोते लगाउने चलन पछि मात्र सुरु भएको हो । सुँगुरको मासु, लसुन, पाहा र सिस्नु घरभित्र ल्याएर पकाउनु हुँदैन भन्ने मान्यता अधिकांश तामाङ समुदायमा अझै कायमै छ ।

न्वारन : लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनसम्म गरिने विधि,

अन्नप्राशन : जन्मेको ६ महिनादेखि ९ महिनासम्म गरिन्छ,

छेवर : जन्मेको ३ वर्षदेखि ९ वर्षसम्म,

बूढो अन्नप्राशन : वृद्ध भएर दाँत झरेर फेरि उम्रेमा गर्ने अन्न प्राशन,

तामाङ समुदायमा विवाह (ब्रेल्साङ)

तामाङ जातिमा आफ्नै मौलिक वैवाहिक संस्कार रहेको छ । विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम् सफल होस् भनेर लामा गुरुहरूलाई अनिवार्यरूपमा टाशीघेपा र टाशीछेक्पा अर्थात् शुभ मोलम पाठ गर्ने प्रचलन छ । तामाङ जातिमा फुपूचेली र मामाचेलाको छोरोछोरी बीचमा पनि विवाह चल्ने प्रचलन छ । आफ्नो स्वाँगैभाई (सहगोत्री) बाहेक अन्य थर, जातिबीचमा ठाउँ विशेषको संस्कारअनुसार विहेबारी हुने गर्दछ । जन्ती जाँदा तामाङहरू मौलिक लोकबाजा डम्फु बजाउँछन् । आफ्नो छोरीचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका चार प्रकारका वस्तुहरू साक्षी राख्ने गरिन्छ । १. विवाह हुने स्थानका अलौकिक ज्योहो ज्योमो (देवी देवता)हरू, २. हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयूरको प्रतीकस्वरूप कुखुराको भाले, ३. नदीमा पाइने गोही र कछुवा आदिको सम्झनास्वरूप जिउँदो माछा र ४. विवाहस्थलमा भएका सम्पूर्ण सज्जन महानुभावहरू । यिनै चार प्रकारका साक्षीहरूको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरीचेली कुटुम्बलाई जिम्मा लगाउँछन् । यही तामाङ संस्कृतिलाई तामाङ जातिमा छोंगोर, घासा वा चारदाम भनिन्छ । यही चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरीबेटी तपाईं कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुई अर्थात् थर चाहिँ हजुरहरूलाई सुम्पेका छैनौं भनी माइतीकै थर रहने कुरा बताउने भएकाले तामाङ चेलीको थर परिवर्तन हुँदैन ।

सामान्यतः तीन दिनपछि दुलही फर्काउने चलनलाई दोवरी–निवरी भनिन्छ । यो समुदाय सरल र सोझो हुने भएकाले सबै झन्झटपट्टि लाग्नुभन्दा वनपाखामा जुवारी खेलेको बखत एकअर्कासँग मायाप्रीति गाँसेर सुटुक्क भाग्ने पुरानो चलनलाई आधुनिकीकरण गर्दै लगिएको छ । परम्पराअनुसार दुई परिवारलाई चित्त बुझेको बेला एक सिसी रक्सी राखेर केटीका आमाबाबुको शिर उठाएपछि टीकोटालो र ढोगभेट गर्नासाथ उनीहरूको सम्बन्ध स्वीकार्य हुन्छ ।

तामाङ समुदायमा मृत्यु संस्कार

तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्वपूर्ण संस्कारको रूपमा लिएको पाइन्छ । यिनीहरू बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरू पूर्वजन्म र पुनःजन्ममा विश्वास गर्दछन् । मृत आत्मालाई मोक्ष दिन बौद्ध धर्मग्रन्थअनुसार लामाको विधिले यो कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरूलाई यहाँ राखिएको छ ।

क) शव उठाउने र शवयात्रा

यो समुदायमा मानिस मरेपछि लासको शिरको छेउमा दियो बालिन्छ । बौद्ध परम्पराअनुसार लामाहरूलाई खबर गरी बौद्ध धर्मशास्त्रको विधिअनुसार फुवा गर्ने लगायतका कर्महरू घरैमा गरिन्छ । लामाले साइत हेरेर मात्र शवयात्रासहित घाटमा लाने गरिन्छ । कुनैकुनै बेला दुई, तीन दिनपछिको साइत निस्किन्छ । राता–पहेँला र सेता कपडाबाहेक अन्य परम्परागत शृंगारका वस्तुले सिंगारेर लास लैजाँदा घ्याङलिङ (धार्मिक सनाई) तथा ढ्यांग्रो, झ्याम्टा बजाउँँदै अघि लाग्छन् । मूल लामा लासको ठीक अघिल्तिर रहन्छन् र घण्टी बजाउँदै, मन्त्र पढ्दै अघि बढ्छन् । उनले हातमा लिएको लामो कपडाको ध्वजाको अर्को छेउ लासको खटसम्म तानिएको हुन्छ । स्वास्नीमानिसहरू मलामी जान यो समुदायमा रोकतोक छैन ।

ख) दाहसंस्कार

तामाङ जातिमा शवयात्रागरी दाहसंस्कारको लागि प्रायजसो डाँडामा लाने चलन छ । यो समुदायमा नुन, तेल बार्ने चलन शास्त्रानुसार अनिवार्य नभए पनि कसैकसैले केही दिनसम्म बार्ने गर्दछन् । कसैकसैले ७ देखि १३ दिनभित्र स्यार्कतिङ्सी गर्छन् । तर, वास्तविक सुध्याइ (घेवा) धेरैजसोले ४९ दिनपछि गरेको देखिन्छ ।

ग) पञ्चशीलको पालना

तामाङ जाति बौद्ध धर्मको महायान सम्प्रदायका हुन् । महायानी बुद्धधर्मअनुसार आफन्तको मृत्यु भएको ४९औं दिनसम्म पञ्चशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायमा जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन ।

घ) घेवा परम्परा

तामाङहरूको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने, जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । घेवा तामाङहरूको अन्त्येष्टि प्रक्रिया हो । यो साधारणतः चार किसिमको हुन्छ ।. (१) बिहाने घेवा, (२) एक राते घेवा (३) तीन दिने घेवा र, (४) सो घेवा ।

१. बिहाने वा एक दिने घेवा ः लामाको विधिअनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक बिहाने घेवा भनिन्छ । एकदिने गर्न पनि दिनभरि लाग्दछ।

२. एकराते घेवा ः लामाकै विधि विधानअनुसार एक राते घेवा बिहान सुरु भएर दिन र रातभर गरेर त्यसको भोलिपल्टको बिहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैंले पनि यस किसिमको घेवा गर्दछन् ।

३. तीनदिने घेवा ः तामाङहरूले मृतकको नाममा तीन दिनसम्म लामाको शास्त्रमा भएको सबै विधि विधान गरेर गरिने घेवा हो यो । पहिलो दिन थाल्ने, दोस्रो दिन फाल्ने, तेस्रो दिन वाङ र टिकाम्हेन्दोको काम हुन्छ ।

४. सो घेवा ः सो घेवा कुनै व्यक्तिले आफ्नो जीवनकालमै गर्ने घेवालाई सो घेवा भनिन्छ । प्रायः सन्तान नहुनेहरूले आफू मर्नुअघि नै सो घेवा गर्ने परम्परा छ ।
मृत्यु संस्कारको बेलामा पनि तामाङ समुदायमा गीत गाउने चलन छ। थुन्दा सोर्बा (मृतकलाई बाटो खर्च दिने) काम सकेपछि मृतकले बाँच्दाको दैनिक जीवनचर्याको विषयमा ज्वाइँ (माक्पा) ले गीत गाउनुपर्दछ। यस्तो गीतलाई ‘कल्पला व्हाई’ भनिन्छ । यसरी ज्वाइँले गीत गाएमा मृतकले जीवनमा पापै गरेको रहेछ भने पनि मुक्ति मिल्छ भन्ने मत पाइन्छ ।परदेश गएर कुनै व्यक्ति मरेको खबर प्राप्त भयो भने उसको परिवारले घेवा गरिसकेको रहेछ, तर मृतक भनिएको व्यक्ति गाउँ फर्कियो भने उसलाई सोझै घर फर्कन दिइँदैन । एक–दुई दिन बाहिर बस्न लगाएर विधिपूर्वक एउटा ठूलो घ्याम्पोमा पसाएर घ्याम्पो फोरी निकालेपछि मात्र घरभित्र हुल्ने चलन छ ।

तामाङ समुदायमा चाडबाड तथा उत्सव

तामाङहरूले आफ्नो विभिन्न चाडपर्वमा बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआज गर्दछन् । बौद्ध धर्मको महायानी सम्प्रदायभित्र पर्दछन् । महत्वपूर्ण धार्मिक चाडपर्वहरूमध्ये बुद्धजयन्ती, सांस्कृतिक एवं धार्मिक पर्व अर्थात् नयाँवर्ष ल्होछारलाई प्रमुख चाडको रूपमा मान्दछन् । माघेसंक्रान्तिको चाड मनाउँदा घ्याङमा गएर पूजा गरिन्छ । जनै पूर्णिमालाई यो समुदायले गुरुपूर्णे भन्ने गरेको पाइन्छ । सो दिन नारा पूजा र भोज चल्ने गर्छ । घ्याङ चलाउन गुठीको झैँ सामूहिक जग्गा राख्ने चलन पनि छ । तामाङहरू चैते दसैं, वैशाखी वा बुद्ध पूर्णिमा, साउने संक्रान्ति, दसैं–तिहारजस्ता चाडहरू पनि मनाउने गर्छन् । तामाङ समुदायमा संसारी पूजा अर्थात् भूमि पूजा गर्नेहरू पनि छन् । तामाङ जीवन, दर्शन र संस्कारमा मुख्यतया तीन सांस्कृतिक निकाय लामो समयदेखि प्रचलनमा छ। बोन्बो, लामा र ताम्बा । बौद्ध सम्प्रदायमा बदलिनुअघि तामाङहरू प्राकृत बोन थिए  अर्थात् बोन्बोबाट सबै कर्म गर्दथे । पछि लामावाद पनि मिसियो। त्यसअघि नै मौखिक इतिहासविद्, संस्कृतिविद्को रूपमा ताम्बा (कथा भन्ने मान्छे) तामाङ समुदायमा अस्तित्वमा आए। तामाङ संस्कृतिको तीन खम्बा मानिने यी सांस्कृतिक धरोहरहरू अझै अस्तित्वमा छन् ।

तामाङ जातिका संस्थागत संरचनाहरु:

नेपालमा सर्वप्रथम कार्तिक १, २००९ मा अखिल नेपाल बुद्ध धर्म सङ्घ स्थापना गर्न तामाङहरू जुटेको प्रमाण पाइन्छ ।प्रजातन्त्र स्थापनापछि नेपाल तामाङ समाज सुधारसमिति गठन भई त्यसैले आफ्नो ‘संस्कृति, भाषा र धर्म सम्बन्धिका वस्तुहरूको खोजतलास र सुरक्षाको लागि काम गरेको थियो । त्यत्तिबेलाका नेता तथा अग्रजहरू जुद्दवीर लामा, अष्टबहादुर लामा, पेम्बा तामाङ, वीरबहादुर लामा, बुद्धिमान तामाङ, सत्यमान लामा, तिलकबहादुर नेगी आदिले संस्कृति संरक्षणमा काम गरेका थिए । २०४७ को जेठ २६–२७ मा काठमाडौँमा सम्पन्न बृहत् भेलाबाटनेपाल तामाङ घेदुङ (नेताघे) को स्थापना भएको हो । यो नै नेपाल सरकार बाट मान्यता संस्था हो । यो सँगै तामाङ भाषा संस्कृति विकास समिति, नेपाल तामाङ राष्ट्रिय महासङ्घ, नेपाल तामाङ राष्ट्रिय घेदुङ, नेपाल ताम्बा घेदुङ, नेपाल लामा घेदुङ, नेपाल बोन्बो घेदुङ, नेपाल महिला घेदुङ, तामाङ सेवा गुठी, तामाङ स्रष्टा समाज,तामाङ सेमल्हेङ न्हान,नाङ्सल क्लब नेपाल, तामाङ प्राज्ञ सभा, तामाङ न्हाङखोर, तम्बा सङ्घ नेपाल, बौद्ध तामाङ कल्याण गुठी,तामाङ राष्ट्रिय पुस्तकालय, नेपाल रास्ट्रिय तामाङ संघ, नेपाल ताम्बा संघ,नेपाल तामाङ कलाकार संघ,सेलो जुहारी कलाकार संघ विभिन्न तामाङ समाज तथा गुठी संस्थाहरूस्थापना भई तामाङ भाषा, साहित्य र संस्कृतिलाई बचाउनमहत्वपूर्ण योगदान दिँदै आएका छन् । यसका अलवा नेपालबाहिर पनि सक्रिय संस्थाहरू छन् । भारतको दार्जिलिङमा पहिलो तामाङ संस्था नेपाली तामाङ बौद्ध एसोसिएसन स्थापना भएको थियो । त्यसपश्चात्मेघालयमा दरङ बुद्धिस्ट तामाङ समाज,गान्तोकमा सिक्किम तामाङ बौद्ध सङ्घ, अखिल भारतीय तामाङ बौद्ध सङ्घ, तामाङ बौद्ध घेदुङस्थापना गरी तामाङ जातिको उत्थान, हकहित, भाषा–संस्कृति र प्रकाशन लगायतका उल्लेखनीय काम गर्दै आएका छन्।
(मोक्ताननेपाल तामाङ घेदुङमा आबद्ध छन् । )