काठमाडौं ।
रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्म कल्लीमा कलाकारको लाइनअप बलियो बन्दै गएको छ। फिल्ममा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालपछि फिल्ममा अभिनेता उत्तम प्रधानको प्रवेश भएको हो।
उत्तम लामो समयपछि कल्लीमार्फत नेपाली फिल्ममा कमब्याक गर्न लागेका हुन्। केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए। तुलसी घिमिरेद्वारा निर्देशित फिल्म दर्पणछायाँबाट रजतपटमा देखिएका उत्तम पछिल्लोपटक दर्पणछाँया २ को विशेष भूमिकामा देखिएका थिए।
फिल्मका निर्माता किरण नेपाली तथा लेखक एवं निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन्। प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमब्याक गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्। फिल्म नयाँ वर्ष २०८२ साल चैत्रको २९ गतेबाट रिलिजमा आउनेछ। फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी गराए।
प्रतिक्रिया