बाजुरा ।
बाजुरेलीको सांस्कृतिक एबं मौलिक पर्वका रुपमा चिनिने स्थानीय रैथाने पर्व अनन्ते मेला बुधबारदेखि सदरमुकाम मार्तडीमा सुरु भएको छ ।
यस वर्षको अनन्ते मेला असोज दुुई गतेदेखि ४ गतेसम्म सदरमुकाम मार्तडीको उपरकोटस्थित अनन्त्या खेलमैदानमा लाग्ने छ । मेलामा प्राय पुरुषले दौरासुरवाल र महिलाहरु चौवन्दी चोलीमा सजिएर मेला भर्ने प्रचलन छ ।
मेला भर्न देश विदेशबाट घर आउने र विशेष गरी वर्खा मौसमा गोठ खर्क गएका स्थानीय ग्वाला गोठालाहरु घर नजिकिएको अवसरमा एकजुट भएर एक आपसमा सुख दुःख बाँडचुड गर्ने र रमाईलो गर्ने प्रचलन छ । उक्त मेलामा स्थानीयहरुले तिन दिनसम्म स्थानीय शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने छन् ,बडिमालिका नगपालिकाका वडा अध्यक्ष एबं मेला ब्यबस्थापन समितिका संयोजक चन्द्रबाहादुर थापाले भन्नुुभयो ।
सुदुरपश्चिम तथा कर्णाली क्षेत्रका अधिकांश पहाडी मुलबासीले कुल देवता मष्टोलाई मान्दछन् । यो खस सभ्यताको मुख्य परम्परा र नेपालकै रैथाने संस्कृतिमध्ये पश्चिम क्षेत्रको महत्त्वपुर्ण संस्कृति हो । मष्टो परम्पराको प्रभाव खसान क्षेत्रको साँस्कृतिक चाडपर्व तथा जीजवनशैली समेतमा परेको देखिन्छ । यस क्षेत्रमा मनाईने अधिकाश चाडपर्वहरुको सरुवात मष्टोको उत्पत्ति र स्तुतिबाट हुने गरेका छन् । धेरै यस्ता पर्वमध्ये मार्तडी लगाएतका क्षेत्रमा मनाईने अनन्त्या पनि एक हो , बाजुरा क्याम्पसका सह–प्राध्यापक तथा सथानीय बुद्धीजीवी वीरेन्द्रबहादुर रावलले भन्नुुभयो ।
उहाँका अनुसार अनन्त्यमा तत्कालिन राजाले आफ्नो शासन र सुरक्षाका मुताबिक लड्नु परेका युद्धमा पैकेलाहरु (युद्धमा सामेल हुने युवा) को छनोट र जातृतिका लागि निर्देशन दिएका कुराहरु व्यक्त गरिएका छन् । यस्तै माईत जान नपाएकी चेलीले व्यक्त गर्ने वेदनालाइ अनन्त्यका मागलहरुमा मार्मीक ढंगबाट व्यक्त गरिन्छ । चेलीले माइत जान नपाउँदा पोईली घरमा काल्पनिक पात्रसंग गरेका वार्तालापहरु अनन्त्याका मागलमा समेटिएका छन् । परदेश जाँदा श्रीमतीले घरमा भोग्ने पिडालाइ पनि मागलहरुद्धारा व्यक्त गरिन्छन् । यस्ता थुप्रै सन्दर्भहरु अनन्त्याका मागलहरुमा भेटिन्छन् ।
अनन्त्या एक सामुहिक खेल हो जहाँ खेलाडीहरुले मिजुरा (एक प्रकारको बाजा) बजाइ निश्चित पाइलामा गोल आकारमा खेल्ने गरिन्छ । यस खेलमा एकजना मुख्य मंग्ल्यारु (मागल भन्ने मान्छे) ले मागल भन्ने र अरु सहभागीले सोहि मागल गाउने गरिन्छ । परम्परा अनुसार सबै खेलाडीहरुले दौरासुरुवाल लगाइ खेल्ने गरिन्छ । यो बडीमालिका नगरपालिका बडा न ८ अनन्ते गडामा खेलिन्छ । अनन्त्यमा ग्रामीण मानविय जिवनका परिवेश तथा तत्कालिन सामाजिक परिस्थितिलाइ मागलद्धारा वर्णन गरिएको पाइन्छ । यिनै अन्त्यहिन सन्दर्भ र परिवेशहरुलाइ मागलको माध्यमबाट लयबद्ध रुपमा व्यक्त गरिने भएकाले यसलाइ अनन्त्या भन्ने गरिएको यहाँका मंग्ल्यारुहरु को मत रहेको छ ।
अनन्त्यमा व्यक्त गरिने मागलहरुमा हिन्दुशास्त्रका छोटा परिवेशको चित्रण देखि घरायसी सन्दर्भको व्याख्या, गोर्खालीहरुका युद्ध विरताका गाथाको समिश्रणसम्म भेटिन्छ । स्थान विषेश अनन्त्यका मागलहरुमा केहि फरकपन समेत भेटिन्छ । विषेशतः एकै प्रकारका मागलहरुको गायन लयमा अझ बढी फरकपन भेटिन्छ । बाजुराको मध्ये क्षेत्रका अनन्त्यका मागलहरुले खस साम्राज्यको शासन परिवेशलाइ व्याख्या गरेका छन् भने तल्लो क्षेत्रका अनन्त्यका मागलहरुमा रैकाहरुको शासनकालको परिवेश चित्रण गरेको पाइन्छ ।
निराकार परम शक्तिको स्रोत मष्टाको स्तुतिगाथाबाट प्रारम्भ हुने अनन्त्य बाजुराको तल्लो भेग मार्तडी, बार्हबिस, कैलाशमाण्डौँ, तोली, डोगडी, जुगाडा लगाएतका क्षेत्रमा भव्यताका साथ तिन दिनसम्म मनाईने गरिन्छ । द्धन्द्धको बेला देखि कतियप क्षेत्रमा यो पर्व मनाउनै छोडिसकेको देखिन्छ तर मार्तडीमा यसलाई दशैँ भन्दा पनि विषेश महत्व दिइ मनाइने गरिन्छ । सुदुरपश्चिमको बाजुरामा मात्र अनन्त्य मनाइने गरेको पाइन्छ । अनन्त चतुर्दशीको पछिल्लो दिन इन्द्र जात्रा दिन (पुर्णीमा , यसपाली असोज २ गते) बाट सुरु हुने अनन्त्या ३ दिनसम्म मनाइन्छ ।
प्रतिक्रिया