दोस्रो विश्वयुद्ध शुरू गर्न जर्मनीले चालेको एउटा कपटपूर्ण गोप्य अभियानको नाम हो, अपरेसन हिमलर । यसलाई ग्लिविट्ज घटना पनि भनिन्छ । सन् १९३९ मा जर्मनी र पोल्यान्डबीच तनाव बढ्दै जाँदा जर्मनीका चान्सलर तानाशाह एडोल्फ हिटलरले पोल्यान्डमाथि आक्रमण गर्ने योजना बनाए । यसको लागि हिटलरलाई बहाना चाहिएको थियो । यसैकारण हिटलरले आफ्नै देशको एउटा रेडियो स्टेसनका साथै पोल्यान्डको सीमा नजिकैका विभिन्न स्थानहरूमा फर्जी आक्रमण गरेर आक्रमणको दोष पोल्यान्डमाथि लगाएका थिए ।
यो अपरेसनको सबैभन्दा चर्चित घटना ग्लिविट्ज रेडियो स्टेसनमा भएको थियो । सन् १९३९ अगस्ट ३१ मा जर्मन एसएस कमान्डोहरूले पोलिस सैनिकहरूको नक्कल गरेर उक्त रेडियो स्टेसनमा आक्रमण गर्नुका साथै पोलिस भाषामा जर्मनीविरुद्ध आक्रमण गर्ने घोषणा प्रसारण गरेका थिए ।
उक्त फर्जी आक्रमणको योजना जर्मन एसएस कमान्डो प्रमुख हेनरिक हिमलरले तयार पारेको हुनाले उक्त आक्रमणको नाम अपरेसन हिमलर रहन गएको हो। यो अपरेशनले जर्मनीको आक्रामक रणनीति दर्शाउनुका साथै हिटलरले युद्धको आफ्नो योजनालाई सफल बनाउन गरेको छलकपटलाई उजागर गर्दछ ।
थप तथ्यहरू :
-रेडियो स्टेसनपछि जर्मन कमान्डोहरूले पोल्यान्डको सीमा नजिकैका विभिन्न स्थानहरूमा सानातिना फर्जी आक्रमण गरेको थिए र उक्त आक्रमण पोल्यान्डले गरेको भनेर बताइएको थियो ।
-ग्लिविट्ज घटनालाई विश्वसनीय बनाउन एसएस कमान्डोहरूले केही कैदीहरूलाई मारेर तिनीहरूलाई पोलिस सैनिकको पोशाकमा घटनास्थलमा छाडिदिएका थिए । यसैलाई जर्मनीले पोल्यान्डले गरेको आक्रमणको प्रमाणका रूपमा प्रस्तुत गरेको थियो ।
-अपरेसन हिमलर सफल भएलगत्तै पोल्यान्डले जर्मनीमाथि आक्रमण गरेको झुठो दावी पेस गर्दै जर्मनले सन् १९३९ सेप्टेम्बर ९ मा पोल्यान्डमाथि आक्रमण ग¥यो । यसै युद्धले दोस्रो विश्वयुद्धको औपचारिक सुरुवात गरेको थियो ।
-दोस्रो विश्वयुद्धको अन्त्यतिर हिमलरलाई बेलायती सेनाले गिरफ्तार गरेको थियो । पक्राउपछि उनलाई जर्मनीको लुनेवर्ग नजिकैको एउटा छाउनीमा राखिएको थियो । त्यही उनले सन् १९४५ मे २३ मा साइनाइड विष खाएर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया