३१९४ किलो सुन नेपाल भित्रिएको तथ्य फेला

2.07k
Shares

काठमाडौं ।

गत वर्षको साउन २ गते ब्रेक सुभित्र लुकाएर ल्याइएको ६० किलो सुनको अनुसन्धान अन्तिम चरणमा पुगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दाबी गरेको छ।

हङकङको क्याथे प्यासिफिक विमानबाट नेपाल भित्र्याइएको ६० किलो सुनको अनुसन्धान गरेको नेपाल प्रहरीले गत वर्ष अवैध रूपमा ३ हजार १ सय ९४ किलो सुन नेपाल भित्रिएको तथ्य फेला पारेको छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले मोटरसाइकलमा प्रयोग हुने ब्रेक सुमा लुकाएर ल्याइएको ६० किलो सुनको अनुसन्धान गर्ने क्रममा सो गिरोहले ३ हजार १ सय ९४ किलो सुन अवैध रूपमा नेपाल भित्र्याएर तेस्रो मुलुक लगेको पाइएको बताउनुभयो।

‘नेपाली भूमि प्रयोग गरेर सुन तस्करीमा संलग्न रहेका स्वदेशी तथा विदेशी तस्करहरूले नेपाललाई ट्रान्जिट मात्र बनाएको देखिन्छ’, प्रवक्ता बोगटीले भन्नुभयो– हङकङ तथा दुबईबाट नेपाल भित्रिएका सुन नेपालबाट भारततर्फ निकासी भएको देखिन्छ।’

सीआईबीले दोस्रो पटक पुनः छानबिन गरेको ६० केजी सुन तस्करी प्रकरणमा १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने १५ जना फरार रहेको पनि एसपी बोगटीले जानकारी दिनुभयो । फरार रहेका १५ जनामा ११ जना नेपाली र ४ जना विदेशी नागरिक रहेका छन् ।

सीआईबीको हिरासतमा रहेका १७ जना सुन तस्करीमा संलग्न रहेकाहरूमा भारतीय नागरिकहरू सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, बैजनाथ महादत्त गोयल, दिनेश भन्ने धीरज दिनेश बैटे, नेपाली नागरिकहरू सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री, कान्छा लामा, प्रज्वल आचार्य, सुरज शमशेर जबरा, भीमप्रसाद तिमिल्सिना, सुशील जाकिम्बरा, कश्यप मानन्धर, लालबहादुर कुँवर, अरुणकुमार यादव, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, सेराप भन्ने सेरप गुरुङ, र चिनियाँ नागरिक गंगा टासी रहेका छन्।

सीआईबीले पक्राउ गरेका र फरार रहेकालाई प्रतिवादी बनाएर भोलि शुक्रबारसम्म जिल्ला अदालत काठमाडौंमा मुद्दा बुझाउने तयारी भएको एसपी बोगटीले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो चरणको अनुसन्धानमा सुन तस्करी गर्ने, गराउने, ओसारपसार गर्ने, खरिद तथा बिक्री गर्ने तथा रकम व्यवस्थापनमा योजनाबद्ध रूपमा संलग्नमाथि अध्ययनको काम भइरहेको छ भने फरार रहेका १५ जनाको खोजीको कामलाई तीव्र बनाएको पनि उहाँले जानकारी दिनुभयो ।

उक्त सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । विभागको टोलीले आफैं अनुसन्धान गर्न अनुसन्धान टोली नै बनाएर अनुसन्धान गरेको भए पनि सुन भित्र्याउने अभियुक्तसम्म पुग्न नसकेपछि थप अनुसन्धान गर्न भन्दै सीआईबीलाई आफूले अनुसन्धान गरेको फाइल बुझाएको थियो।

विभागबाट फाइलसहित केही व्यक्ति जिम्मा पाएको सीआईबीले पहिलो चरणको अनुसन्धान पूरा गरी गत वर्षको असोज १ गते २९ जनाविरुद्ध ३ अर्ब ३० करोड ३० लाख बिगो तथा जरिवानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

Skip This