एक जीवित विश्वकोष हरिराम जोशी

9.12k
Shares

ललितपुर  ।

दशकौं लगाएर धर्म, संस्कृति र इतिहाससम्बन्धी तीन–तीनवटा विश्वकोष लेखेका संस्कृति शिरोमणि हरिराम जोशी संस्कृति, इतिहासका अध्येताहरूका निम्ति एक जीवित संस्कृति विश्वकोषसरह हुन्। तैपनि जोशीको व्यक्तित्व ‘कालो बादलले ढाकेको चन्द्रमा’ सरह ओझेलमा पर्दै आएको छ।

प्रदीप अभिनव संस्कृति विश्वकोष, अभिनव वेदादी कोष र अभिनव कोष गरी तीनवटा विश्वकोष धर्म, संस्कृति र इतिहाससम्बन्धी जोशीका बहुचर्चित ग्रन्थ हुन्। तीनवटा विश्वकोषमध्ये ६ सय ५ पृष्ठको अभिनव कोषका लागि संस्कृति शिरोमणि जोशीले २०५९ सालको मदन पुरस्कार पाउनुभएको थियो। त्यसबाहेक नेपालको इतिहास, अभिलेख, संस्कृति, पुरातत्व धर्म तथा जनजीवनको क्षेत्रमा विशद् खोज तथा अनुसन्धानसम्बन्धी जोशीका ३५ वटा पुस्तकहरू प्रकाशित छन्।

विगत सात दशकदेखि अनवरत रूपमा नेपाली संस्कृतिका इतिहास, अभिलेख, मुद्रा, ग्रन्थ, शब्दकोष, संस्कार, चाडपर्व, धर्म, देवीदेवतालगायत कलाको विषयमा खोज गर्दै जोशीले विभिन्न ग्रन्थमार्फत् त्यसलाई जनसमक्ष राख्दै आउनुभएको छ। तैपनि जोशीलाई चिन्ने धेरै छैनन्। उहाँको प्रतिभा र कामलाई बुझ्ने केही बुद्धिजीवी र इतिहास र संस्कृतिका खोजकर्ताहरू उहाँको घरमा पुग्छन् । एक हिसाबले उहाँलाई सिमान्तकृत बौद्धिक साधकका रूपमा लिने गरेका छन्।

जोशीलाई नजिकबाट बुझ्नेहरूको भनाइमा जोशी ‘कालो बादलले ढाकेको चन्द्रमा’ झै हुन्।’ जोशीको व्यक्तित्व र योगदान धेरैलाई जानकारी नहुनु इतिहास, संस्कृतिका अध्ययेताहरूले शुरूदेखि नै खट्किएको विषयका रूपमा रहेका लिएका छन्। हाल पुरातत्व विभागका महानिर्देशक समेत रहेका प्रधानाङ्गले भन्नुभयो– ‘जोशीको विषयमा चर्चा गर्दै जाँदा सहज र स्वाभाविक रूपमा सबैले त्यही प्रश्न धेरैले दोहोर्‍याउने गरेका छन्।’

राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, इतिहासकार ज्ञानमणि नेपालको चर्चा र परिचर्चा सुनेका जोकोहीले पनि हरिराम जोशीको परिचय पाउने जोशीको व्यक्तित्व कसरी ओझेलमा परेको भनेर सोध्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘बौद्धिक खोज, अनुसन्धान, त्यसको चर्चा भनेको फरक फरक विषय हुन्।

यसमा स्वयम् जोशीको उत्तरले थप प्रस्ट्याउँछ ।’ जोशीको योगदानबारे किन खासै चर्चा नभएको भएको भन्ने जिज्ञासामा उहाँले भन्नुभयो– ‘मेरो काम संस्कृतिसम्बन्धी शोधखोज गर्ने हो । यसैमा मलाई आनन्द छ। फेरि मेरोबारे चर्चा किन नगरेको भनेर समाजलाई सोध्न कुरो पनि भएन । यस्तो उत्तर मैले दिने नै पनि होइन । चर्चा र परिचर्चासँग मेरो खास मतलब पनि छैन ।’

जोशीको बौद्धिक कर्मलाई नजिकबाट नियाल्दै आएका स्थानीय संस्कृतिका अध्येयता राजेश वज्राचार्यले भन्नुभयो– ‘राष्ट्रकवि माधव घिमिरे, इतिहासकार ज्ञानमणि नेपाल, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चर्चा परिचर्चा सुनेका जोकोहीले जोशीलाई व्यक्तित्व गुमनाम व्यक्तित्वका रूपमा लिन्छन् । जोशीको चर्चा अपेक्षाकृत नभएको भन्ने सर्वसाधारणको अनुभूतिको पछाडि सम्बद्ध संस्था, समाज, राज्य र सञ्चारमाध्यमको भूमिकालाई हेर्नुपर्ने हुन्छ ।’

प्राचीन नेपाल, नेपाली संस्कृति, नेपालको प्राचीन अभिलेख, उत्तरप्राचीनकालीन मुद्रा, हाम्रो संस्कृति, मध्यकालीन अभिलेख, हिन्दु देवीदेवता, नेपालका चाडपर्व, मेडिएबल कोलोपोफोन्स, पेजेज अफ द फर्गटन पास्ट जोशीका बहुचर्चित तथा गहन महत्वका ग्रन्थहरू हुन्। इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदांग एवम् हिन्दु पुराणका अनेकौं विषयमाथि विहंगम दृष्टिका साथ जोशीले गहन रूपमा खोज र अनुसन्धान गर्नुभएको छ।

उहाँको योगदान र व्यक्तित्वको विषयमा राज्य र समाजको जुन स्वरूप र स्तरमा ध्यान जानुपर्ने हो, त्यो हिसाबले नगएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बताउनुभयो। ‘जीवनका सारा वसन्तलाई बिच्छयाएर दिनरात महिना, वर्षहरू संस्कृति र इतिहासको खोजमा बिताउने हरिराम जोशीलाई राज्यले चिन्नुपर्दछ। समाजले चिन्नुपर्दछ। यसमा सरकार प्रतिबद्ध रहेको छ’ –जोशीको सम्मानमा बोधिचर्या नेपालले गरेको समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले भन्नुभयो।

जनस्तरबाट जोशीलाई बिहीबार गरिएको बोधिचर्या सम्मान जोशीको जीवनको उत्तराद्र्धमा उहाँको व्यक्तित्व र कृतित्वलाई बुझ्ने र चिन्ने शृंखलाको पछिल्लो कडी रहेको महानिर्देशक प्रधानाङ्गको भनाइ छ ।

Skip This