मिडिया बजारका संकट र विज्ञापनका समस्या समाधान गर्न महत्वपूर्ण पहल

आचारसंहितासहितको सम्झौतापत्रमा हस्ताक्षर

752
Shares

काठमाडौं ।

नेपालको मिडिया बजार तथा विज्ञापन क्षेत्रमा देखिएका चुनौती र समस्यालाई समाधान गर्ने उद्देश्यले मिडिया क्षेत्रका दुई प्रमुख छाता संगठन र विज्ञापन एजेन्सीका दुई छाता संगठनबीच बुधबार आचारसंहितासहितको सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

मिडिया क्षेत्रको छाता संगठन मिडिया एलाइन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठ, नेपाल मिडिया सोसाइटीका महासचिव मदन लम्साल, नेपाल विज्ञापन संघ (आन) का महासचिव कृष्णप्रसाद घिमिरे र राष्ट्रिय विज्ञापन संघ (नान) का महासचिव आशिष खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर समारोहमा चारवटै संस्थाका प्रमुखहरू मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापा, राष्ट्रिय विज्ञापन संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ तथा नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंको उपस्थिति थियो।

हस्ताक्षर समारोहमा बोल्दै चारवटै संस्थाका प्रमुखहरूले आचारसंहितासहितको हस्ताक्षर पत्रमा गरिएको सहमतिले नेपालको मिडिया क्षेत्रमा देखा परेका विज्ञापनका समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्दै सम्झौतालाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा बोल्दै मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापनलाई पारदर्शी र सशक्त बनाउन व्यावसायिक आचारसंहिताले कोशेढुंगाको काम गर्ने बताउनुभयो। उहाँले नेपाली मिडिया क्षेत्रले इतिहासमा नै संकटपूर्ण अवस्था व्यहोर्न बाध्य भइरहेको जिकिर गर्दै यो संकटको निवारण गर्न पनि यस प्रकारको आचारसंहिता र सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले मिडिया क्षेत्रमा देखिएका संकटहरू समाधान गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने र आचारसंहिताले संकट समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सुदीप थापाले नेपालको मिडिया बजार र विज्ञापनमा देखिएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले व्यावसायिक आचारसंहिता बनाएर सम्झौता गरिएको र यसको सबै पक्षबाट दृढतापूर्वक कार्यान्वयन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

राष्ट्रिय विज्ञापन संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले चारवटा संस्थाको एकताबद्ध प्रयास र आचारसंहितासहितको सम्झौताले आगामी दिनमा मिडिया बजार र विज्ञापन क्षेत्र फस्टाएर जाने विश्वास व्यक्त गर्दै आचारसंहिता पालना गर्न सबै पक्ष संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आचारसंहितासहितको सम्झौता गरी मिडिया व्यवसायी र विज्ञापन व्यवसायीले ऐतिहासिक कार्य गरेको बताउनुभयो। उहाँले यो सम्झौताले विज्ञापन बोर्डले जारी गरेको आचारसंहिता लागू हुन सहज भएको भन्दै खुसी व्यक्त गर्दै भन्नुभयो– ‘अब मिडिया व्यवसायी र विज्ञापन व्यवसायी दुवै पक्षले विज्ञापन स्रोतको संरक्षण गर्नुपर्छ र विज्ञापन क्षेत्रमा देखिएको अपारदर्शीतालाई हटाउनुपर्छ।’

यस्ता छन् आचारसंहितासहित सम्झौताका बुँदा 

१. नेपाल सरकारको सम्बन्धित निकाय तथा विज्ञापन बोर्डमा प्रक्रिया पूरा गरेर दर्ता भई नियमित नवीकरण भएको हुनुपर्नेछ । साथै नेपाल विज्ञापन संघ (आन) वा राष्ट्रिय विज्ञापन संघ नेपाल (नान), को सदस्य भएको हुनुपर्छ ।

२. विज्ञापन एजेन्सीले विज्ञापन कारोबार गर्न आवश्यक भौतिक पूर्वाधार आन वा नानबाट जारी गरिएको तालिकाअनुसार कम्तीमा पाँच जना कर्मचारी भएको प्रमाणित गर्नु पर्नेछ ।

३. विज्ञापन एजेन्सीले मिडियासँग विज्ञापनसम्बन्धी कारोबार गर्नका लागि कारोबार गर्ने मिडिया वा सोसँग सम्बन्धित संघसंस्थाहरूबाट हरेक वर्ष ‘नो अब्जेक्सन लेटर’ लिनुपर्नेछ ।

४. वार्षिक ५० लाख बराबरको कारोबार र कम्तीमा तीनवटा फरक–फरक विज्ञापनदातासँग बिलबिजक गरिसकेको विज्ञापन एजेन्सीलाई संस्थागत रूपमा विज्ञापनसम्बन्धी कारोबार गर्न योग्य भएको मानिनेछ । व्यावसायिक विज्ञापन एजेन्सीको आव २०८१‐८२ सम्ममा वार्षिक कारोबार १ करोड रुपियाँ पुगेको हुनुपर्नेछ ।

५. विज्ञापनसम्बन्धी कारोबारको बिलबिजकबाट आम्दानी गर्ने मूलधारका सञ्चारमाध्यम तथा विज्ञापनलाई आम्दानीको स्रोत मान्ने मिडिया व्यवसायी (कार्यक्रम उत्पादक तथा मार्केटिङ कम्पनी, मिडिया बाइङ कम्पनी आदि) ले विज्ञापन बोर्डमा दर्ता भएको एजेन्सीहरूको सूची प्रकाशित वा प्रसारित गरी आफ्नो वेबसाइटमा राख्नुपर्नेछ ।

६. सम्बन्धन प्राप्त विज्ञापन एजेन्सीले विज्ञापनसम्बन्धी कारोबार गर्नका लागि सञ्चारमाध्यमको आफ्नो नीतिअनुसार बैंक ग्यारेन्टी वा नगद धरौटी राख्नुपर्नेछ ।

७. मूलधारका सञ्चार माध्यम तथा कुनै पनि सञ्चारमाध्यमले विज्ञापन बोर्डमा दर्ता भएका आन वा नानसँग आबद्ध एजेन्सीसँग मात्र कारोबार गर्नुपर्नेछ । त्यस्तै, एजेन्सीहरूले पनि मूलधारका मिडियासँग काम गर्दा नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालसँग आबद्ध मिडियासँग मात्र विज्ञापनसम्बन्धी कारोबार गर्नुपर्नेछ ।

८. छापा माध्यमहरूमा प्रतिकोलम प्रतिसेमी पाँच सय, टेलिभिजनहरूमा एक हजार रुपियाँ प्रतिमिनेट न्यूनतम दर कायम हुनेछ । मिडियाहरूले कुनै पनि स्किम चलाउँदा विज्ञापनको न्यूनतम दररेटभन्दा कम गर्न मिल्ने छैन । यदि, कुनै मिडियाले उल्लिखित दरभन्दा न्यूनतम दरमा विज्ञापनसम्बन्धी कारोबार गरेमा उक्त मिडियालाई ३ महिनाका लागि विज्ञापनसम्बन्धी कारोबार गर्नबाट निलम्बन गरिनेछ ।

९. विज्ञापन एजेन्सीले क्रिएटिभ कन्सेप्ट डिजाइनबापत शुल्क वार्षिक न्यूनतम छ लाख वा प्रत्येक क्रिएटिभ कन्सेप्टबापत न्यूनतम पाँच हजार रुपियाँभन्दा कम शुल्क लिन पाइनेछैन ।

१०. विज्ञापन एजेन्सीलाई दिएको १५ प्रतिशत कमिसन र मिडिया मार्केटिङ एजेन्सीले वाइङको हकमा प्राप्त गर्ने अधिकतम थप ७ प्रतिशत शुल्कबापतको रकमबाट विज्ञापनदातालाई छुट दिन पाइनेछैन । त्यस्तो रकम एजेन्सी सञ्चालन, भौतिक पूर्वाधार तथा प्रविधि, स्तर उन्नति, मानव संशाधन, वृत्ति विकास तथा व्यावसायिक प्रतिफलका लागि प्रयोग गर्नुपर्नेछ । मिडिया मार्केटिङ एजेन्सीले मिडियाको दररेटमा नै कारोबार गर्नुपर्ने र वाइङ एजेन्सीले दररेट स्वयं तय गर्नुपर्नेछ ।

११. यस सम्झौतामा आबद्ध भएका सञ्चारमाध्यमले विज्ञापनसम्बन्धी कारोबार गर्न आफ्नो दररेट सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ र आफ्नो वेबसाइटमा राख्ने तथा विज्ञापन बोर्डलाई जानकारी गराउनुपर्नेछ ।

१२. विज्ञापनको दररेट सार्वजनिक गर्दा छुटको प्रकृति (कर्पोरेट, फ्रिक्वेन्सी, सरकारी–गैरसरकारी आदि) तथा चारपक्षीय सम्झौता गरेमा पनि न्यूनतम दररेट यस सम्झौताको बुँदा नम्बर (ख) (२) बमोजिमको खुलाउनुपर्नेछ ।

१३. कुनै पनि समय तथा परिस्थितिमा सञ्चारमाध्यमले दररेट स्किम चलाउन चाहेमा त्यसको दररेटसमेत सार्वजनिक गर्नुपर्नेछ । तर, न्यूनतम दररेटभन्दा कमी गर्न पाइनेछैन ।

१४.बिलबिजक प्राप्त गरेको दिनबाट विज्ञापनदाताले एजेन्सीलाई ३० दिनभित्रै भुक्तानी गर्नुपर्नेछ भने एजेन्सीहरूले ६० दिनभित्र सञ्चारमाध्यमलाई भुक्तानी गरिसक्नुपर्नेछ । एजेन्सीले ६० दिनभित्र पनि भुक्तानी नगरेमा विज्ञापन प्रकाशन भएको मितिदेखि नै गणना हुने गरी वार्षिक १५ प्रतिशतका दरले ब्याजसहित बक्यौता रकम चुक्ता गर्नुपर्नेछ ।

१५ सञ्चारमाध्यमले जारी गरेको बिलबिजकमा उल्लिखित रकम सम्झौताअनुसार नभई एजेन्सी र सञ्चारमाध्यम आफैँ मिलेमतो गरी भुक्तानी लिएमा एजेन्सी र सञ्चारमाध्यम दुवैलाई कारबाही हुनेछ ।

१६. विज्ञापनदाताले एजेन्सी र एजेन्सीले विज्ञापनदातासँग गरेको कारोबार छाड्न चाहेमा सम्पूर्ण बक्यौता रकम विज्ञापनदाताले एजेन्सीलाई ३० दिनभित्र भुक्तानी गर्नुपर्नेछ । यदि, ३० दिनभित्र पनि भुक्तानी नभएमा नेपाल विज्ञापन संघ (आन), राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले सो विज्ञापनदातासँगको कारोबार रोक्न परिपत्र गर्नुपर्नेछ र सो परिपत्रलाई एजेन्सी तथा मिडियाले पालना गर्नुपर्नेछ । नयाँ कारोबार गर्ने एजेन्सी र मिडियाले उक्त विज्ञापनदातासँग हुने सम्पूर्ण कारोबार रोक्नुपर्नेछ ।

१७. कुनै पनि विज्ञापन गर्दा कारोबारको बिल बिजकमा सम्बन्धित विज्ञापनदाता, एजेन्सी तथा रिलिज एजेन्सीको नाम प्रस्ट खुल्ने गरी लेख्नुपर्नेछ ।

१८. विज्ञापन बजारलाई पारदर्शी बनाउन सञ्चारमाध्यमको लोकप्रियता विषयवस्तुको गाम्भीर्यताका आधारमा स्तर निर्धारण गरी सोही आधारमा दररेट कायम गर्न लगाई निर्धारित दररेटमा कारोबार गर्ने व्यवस्था मिलाउनुपर्छ ।

१९. मूलधारका सञ्चारमाध्यमले कुनै पनि विज्ञापनदातासँग विज्ञापनको कारोबार सीधै गर्न पाइनेछैन । इभेन्टको हकमा भने सञ्चारमाध्यमले विज्ञापनदातासँग सीधै कारोबार गर्न पाउनेछ ।

२०. सञ्चारमाध्यमहरूले आफ्नो प्रवद्र्धनका लागि गरिने इभेन्ट, सभा, सेमिनार, बार्टर आदिमा भएका प्रायोजकहरूको कर्पोरेट विज्ञापन फ्रि स्पटको नाउँमा प्रकाशन तथा प्रसारण गराउन पाइनेछैन । साथै बार्टरसम्बन्धी विज्ञापनमा एजेन्सीमार्फत् आउनुपर्ने हुन्छ र सोको आधिकारिक एजेन्सीलाई १५ प्रतिशत सेवाशुल्क दिनुपर्ने हुन्छ । तर, आन्तरिक सेवाहरू जस्तै ढुवानी इन्टरनेटजस्ता सेवाहरूका हकमा भने बार्टरमा विज्ञापनबापत एजेन्सीलाई सेवाशुल्क दिनुपर्दैन ।

२१. कुनै पनि विज्ञापन एजेन्सी र सञ्चारमाध्यमहरूको पुरानो हरहिसाब नमिलेको भए २०८१ पुस मसान्तसम्म मिलाइसक्नुपर्नेछ भने नयाँ विज्ञापनको हकमा २०८१ साउन १ गतेबाट यो सम्झौताबमोजिम कार्य पालना गर्नुपर्नेछ ।

२२. सञ्चारमाध्यमको कुनै विज्ञापनदातासँग न्यूनतम दररेटभन्दा कममा सम्झौता भइरहेको छ भने उक्त सम्झौता २०८१ पुस मसान्तभित्र खारेज गर्नुपर्नेछ। यो सम्झौता लागू हुनुअगावै कुनै पनि विज्ञापनको सम्झौता गरेको भए त्यसको प्रमाण सम्बन्धित कमिटीलाई पेस गर्नुपर्नेछ ।