पहिलो चरणमा आबुधाबीस्थित नेपाली दूताबास सेवा प्रदान
विस्तारै अन्य देशमा पनि सेवा विस्तार गरिने
काठमाडौं ।
सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ । आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधावीमा नेपाली दूतावासबाट उक्त सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले बिस्तारै यो सेवा अन्य देशमा पनि सञ्चालन गरिने जानकारी दिंदै भन्नुभयो– ‘ साउदी अरेबियाको रियादस्थित नेपाली राजदूतावासमा यो सेवा सन् २०२१ बाट सुरु गरिए पनि वैदेशिक रोजगार विभागमा नजोडिएकाले मागपत्र प्रमाणीकरण भएपश्चात पुनः कागजातमा छाप लगाएर पठाउनुपर्ने अवस्था रहेकोमा अब भने छाप लगाउन नियोगमा धाइरहनु पर्न अवस्थाको अन्त्य भएको छ ।’
रोजगारदाता कम्पनी तथा सम्बन्धित एजेन्सीहरु नियोगमा धाउनुपर्ने, कागजातको आधिकारिकता परीक्षणमा कठिनाइ हुने, धेरै लागत लाग्ने र कार्यप्रक्रिया पारदर्शी नहुनेलगायतका गुनासाहरु सम्बोधन गर्न यो र मागपत्रको सहजीकरण गर्न अनलाईन सेवाले सहज बनाउने बताउनुभयो ।
कार्यक्रममा यो सेवा आजबाट कार्यान्वयन भएपछि सम्बन्धित मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजान नेपाली नियोगमा अनलाइनबाट आवेदन गर्ने, अनलाइनबाट नै उक्त कागजातहरु वैदेशिक रोजगार विभागमा आइपुग्ने र विभागले रुजु गरी आवश्यक श्रम स्वीकृति दिने जानकारी दिइयो ।
यस व्यवस्थाबाट सम्बन्धित रोजगारदाता कम्पनी, श्रमिक छनोट गर्ने कम्पनी सबैले आफ्नो घर वा कार्यालयबाट मागपत्र प्रमाणीकरणका सबै प्रक्रिया अनलाइनबाटै पूरा गर्न तथा आवेदनको प्रगति विवरण हेर्न सक्ने बताइएको छ ।
त्यस्तै कुनै कागजात नपुगेमा अनलाइनबाटै हेरेर थप्ने सक्ने हुँदा बिचौलियाजन्य कार्य निरुत्साहित हुने, रोजगारदाता र श्रमिक छनोट गर्नेलगायतका विवरण यस प्रणालीमा सुरक्षित हुने भएकोले विद्युतीय सुशासन कायम हुने विश्वास पनि गरिएको छ ।
सोही अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अनलाइनबाट मागपत्रको प्रमाणीकरणले अझै श्रमिकको हकहित र रोजगारदाता कम्पनीहरुको नियन्त्रण र सहजीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । यो सेवाको बारेमा रोजगारदाता कम्पनी तथा सम्बद्ध व्यक्तिहरुलाई पनि प्रशिक्षण दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।











प्रतिक्रिया