वीरगन्ज ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त हुनुभएको छ। बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ। विपक्षमा भने ५३ मत परेको छ। सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।
बुधबार प्रदेशसभामा १०३ सांसद उपस्थित थिए । मुख्यमन्त्रीलाई उहाँको दल जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन्। विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन्।
१०७ सदस्य मधेश प्रदेश सभामा एमालेको सभामुखसहित २५, कांग्रेसको २२, जसपाको १९, जनमतको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादीको ७ सिट छ।
त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको एक/एक सिट छ । २३ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायतको दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री बन्नुभएको थियो। गठबन्धन फेरबदल हुँदा मुख्यमन्त्री यादवले यसअघि चारपटक विश्वासको मत लिँदा पनि सुरक्षित रहनुभए तापनि पाँचौंपटक विश्वासको मत लिने बेला सदनमै उहाँ मुख्यमन्त्री पद गुमाउन बाध्य हुनुभएको हो।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा पर्नुभएको थियो । उहाँले बुधबार पाँचौंपटक विश्वासको मत लिन सदनमा प्रस्ताव पेस गर्नुभएको थियो तर बहुमतले अस्वीकृत भएको छ।
योसँगै मधेशमा साढे ६ वर्षपछि जसपा नेपालको नेतृत्वको सरकार ढलेको छ। अब जनमतको नेतृत्वमा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित अघि बढ्ने तयारी भएको नेताहरुले बताएका छन्। यादव अघि मधेशमा पर्सा निवासी महमद लालबावु राउत मधेशको मुख्यमन्त्री रहनुभएको थियो।











प्रतिक्रिया