२७ करोडको सम्पति शुद्धीकरण मुद्दा फैसलामा आशंका

सफाई दिने विशेषका तीन न्यायाधीशविरुद्ध उजुरी

4.14k
Shares

काठमाडौं ।

क्यासिनो किनबेचको फर्जी कारोबारसम्बन्धी विशेष अदालतको एक फैसलालाई लिएर न्यायपरिषद्मा उजुरी परेको छ । रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध २७ करोड ६७ लाख बिगो कायम गरी दायर भएको मुद्दामा विशेष अदालतले सफाई दिएपछि सफाई दिने न्यायाधीशविरुद्ध छानबिनको माग गर्दै न्यायपरिषद्मा उजुरी परेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले गत बैशाख १३ गते सो प्रकरण्मा सफाइ दिएको थियो । फैसलाको पूर्ण पाठ आइसकेको छैन। पर्याप्त प्रमाण हुँदाहुँदै दूषित मनसायले फैसला गरेको भन्दै छानबिनको माग गरी सो उजुरी दिइएको न्यायपरिषद् स्रोतले जानकारी दियो । उजुरीमा तीनैजना न्यायाधीश र उनीहरूका आफन्तमाथि समेत छानबिनको माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ कात्तिक १५ मा सिंहसहित उनकी श्रीमती शारदादेवी सिंह, छोरा जीवनबहादुर सिंह, कर्मचारी जयन्ती थापामगर र उनको कम्पनी गिल्ट इन्भेस्टमेन्ट प्रालिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

अभियोगपत्रमा जयन्ती थापामगर समेतको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई आर्थिक तथा कानुनी उद्देश्य लुकाउने, कारोबारमा जटिलता सिर्जना गर्नेलगायत कार्य गरी कसुर गरेको आरोप लगाइएको थियो । कसुरबाट आर्जित सम्पत्ति एकाघरका परिवारका सदस्य शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखी घरजग्गा खरिद–बिक्री गरेको तथा सम्पत्तिको स्रोत, प्रकृति र स्वरूप बदल्न विभिन्न कम्पनीमा लगानी गरेको उल्लेख छ ।

सिंहले रोयल क्यासिनो सञ्चालन गर्ने गिल्ट इन्भेस्टमेन्ट कम्पनीकी सुपरभाइजर रहेकी जयन्तीलाई २५ करोडमा बिक्री गरेका थिए । सेयर बिक्री गर्दा २५ करोड रुपियाँको चेक दिए पनि त्यो बनावटीमात्र भएको स्वयं थापाकै बयानबाट पुष्टि हुने जिकिर पनि उजुरीमा गरिएको छ। थापाले आफू सामान्य कर्मचारी भएको र मासिक एक लाख तलब तथा १० प्रतिशत सेयर दिने प्रलोभनमा आफ्नो नाममा कम्पनी बिक्री गरिएको बयानमा बताएको दाबी गरिएको छ।

सेयर बिक्री गर्दा दिइएको चेक पछि च्यातिएको थापाले बयान दिएकी थिईन्। बैंकबाट २५ करोड चेकबाट लेनदेनको कुनै कारोबार नभएको भनेर पुष्टि गर्नुले पनि फर्जी कारोबार र सम्पत्ति शुद्धीकरण गरेको प्रस्ट देखिने अवस्था छ । तर, यस्तो फर्जी कारोबारलाई समेत मान्यता दिएर अदालतले सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि असन्तुष्टि जनाएको छ । सो क्यासिनोमा आतंकवादी गतिविधिमा संलग्न व्यक्तिको समेत लगानीको आशंका गरी विभागले अनुसन्धान गरेको थियो ।

सिंहले काठमाडौंको दरबारमार्गमा दरबार बुटिक होटेलका नाममा दुई रोपनी आठ आना तीन पैसा जग्गा खरिद गरेका थिए । बैना गर्दा ६० करोडको कागज गरेर पछि ३० करोडमा मात्र किनेको दाबी गरिएको थियो । सो जग्गा राखेर बैंकबाट २४ करोड ऋण लिएकाले पनि मालपोतमा कर छल्न त्यसरी न्यून मूल्यांकन गरिएको विभागको दाबी थियो । दरबारमार्गजस्तो ठाउँमा होटेलसहितको जग्गा न्यून मूल्यमा खरिद गरेर कल छलेको समेत अभियोग थियो ।

क्यासिनो सञ्चालक सिंह विगतमा विभिन्न अपराधमा पक्राउ परी दोषीसमेत ठहर भएका व्यक्ति हुन् । सिंहले झापा, भैरहवा, नेपालगन्ज र धनगढीमा ‘हयाप्पी आवर’ क्यासिनो सञ्चालन गर्दै आएका थिए । क्यासिनोमार्फत् विदेशी मुद्रा (भारु र अमेरिकी डलर)को अवैध कारोबार, जुवासम्बन्धी लगायतका कसुरसमेतबाट आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोतको तह–तहमा रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्ने समेतको निषेधित कार्य गरेको विभागको दाबी थियो ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले समेत गिल्ट इन्भेस्टमेन्ट प्रालिको खाताको शंकास्पद कारोबार देखिएको पुष्टि भएको भन्दै विभागलाई पत्राचार गरेको थियो । साथै, सिंहका कम्पनीले राज्यलाई कराडौँ रोयल्टीसमेत नतिरेको विषयलाई समेत कसुरको आधार बनाइएको थियो । यथेष्ट प्रमाण हुँदा पनि सफाइ दिएको भन्दै न्यायपरिषद्मा उजुरी गरको उजुरीकर्ता भेषराज लुईंटेलले बताउनुभयो ।

सम्पत्ति शुद्धीकरणमा सफाइ पाएका सिंहका क्यासिनोले सरकारलाई एक अर्ब ३३ करोड रुपियाँ रोयल्टी तिर्न बाँकी छ । याक एन्ड यतीको रोयल क्यासिनोको ७३ करोड ९५ लाख तथा हेप्पी आवरको ५९ करोड २९ लाख रुपियाँ बाँकी रहेको बताइएको छ। हेप्पी आवरमार्फत् सिंहले का“कडभिट्टाको होटेल ढाका, महेन्द्रनगरको होटेल डायमन्ड प्यालेस, भैरहवामा होटेल लाकौल तथा नेपालगञ्जमा होटेल ड्रिमल्यान्डमा क्यासिनो चलाएका थिए ।

Skip This