ललितपुरका वडामा कलाकार समिति बनाइने



काठमाडौं ।

ललितपुर महानगरपालिका–१६ वडाअन्तर्गत कलाकार समितिले महानगर र वडास्तरीय कलाकार समिति बनाउन पहल गर्ने भएको छ।

नेपाल भाषाको गीत, संगीत र कलाकारको विकासलाई स्थानीय तहले नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने निष्कर्षसहित समितिले पहल गर्ने भएको हो। समितिले शनिबार नख्खिपोटमा आयोजना गरेको कला विकासमा स्थानीय तहको भूमिकाविषयक अन्तरक्रिया गर्दै सो पहल गर्न लागिएको हो।

कार्यक्रममा संयोजक सुरजवीर बज्राचार्यले १६ वडा कलाकार समितिले गर्दै आएको कार्य र त्यसको अनुभवको आधारमा महानगरपालिकासहित २९ वटै वडामा कलाकार समिति बनाउन पहल गर्ने बताए। उनले शुरूमा स्थानीय तहका सबै जनप्रतिनिधिलाई कलाकार समिति बनाउन औपचारिक रूपमा अनुरोध गर्ने र आवश्यकताअनुसार ज्ञापनपत्र बुझाउने बताए।

समितिको आग्रहअनुसार अरू वडा कलाकार समिति बनाएमा त्यसको व्यवस्थापन, सञ्चालन, योजना निर्माण विषयमा सहजीकरण गरिने पनि उनले बताए। चार वर्षअघि गठन गरिएको सो समितिको कार्यका लागि वडाले वार्षिक करिब २५ लाख बजेट विनियोजित गर्दै आएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए।

‘बाटो बनाउने, ढल बनाउने कार्यमात्र नभई गीत, संगीत र कलाको उत्थान पनि विकासको एउटा आयाम हो। यहीअनुरुप वडाले नेपालभाषा, गीत, संगीतको कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,’ वडाअध्यक्ष शाक्यले भने।

प्रतिक्रिया दिनुहोस्