काभ्रेपलाञ्चोककी विधी मिस नेपाल पिस



काठमाडौं ।

काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले हालै राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा मिस नेपाल पिस २०२४ को शीर्ष उपाधि जितेकी छन्। नेक्स्ट मोडल्स् नेपालको आयोजनामा होटल याक एन्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेस्ट पर्सनालिटीसहित उपाधि चुमेकी हुन्। लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन्।

हाइकिङमा रुचि भएकी लम्साल सकारात्मक ऊर्जाका साथ नर्सिङ अगाडि बढाउने बताउँछिन्। विजेता लम्सालले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने आयोजक नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवि धमलाले जानकारी गराए।

प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनर्सअप चुनिए। मस्ट इन्टेलेक्च्युअल टाइटल विजेता भएकी पराजुली चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन्। त्यसैगरी विनायक कलेज अफ हेल्थ साइन्सबाट पिसिएल नर्सिङ उत्तीर्ण रेग्मीले मस्ट चार्मिङको टाइटलसमेत प्राप्त गरेकी छन्। तीनै विजेताले उपाधिका साथमा विभिन्न गिफ्ट हात प्राप्त गरेका छन्।

नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा.सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक रहेको प्रतियोगितामा मोनिका थापामगर स्पेसल अवार्ड नर्स विथ अ प्रपोज, सदिति श्रेष्ठ मस्ट फोटोजेनिक र बेस्ट स्किन, लस्ता श्रेष्ठ मस्ट पपुलर र पब्लिक च्वाइस, सलिना बादे मिस फिटनेस र दिव्या बम ठकुरी मस्ट ट्यालेन्ट भए।

सशक्त महिला सबल राष्ट्र भन्ने मान्यताका साथ नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सौन्दर्य प्रतियोगिता हो। अन्तर्राष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउँदै नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायी बोध गराउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यातना पाण्डेले बताइन्।

प्रतिक्रिया दिनुहोस्