गिनिजका लागि सुरेन्द्र र सुशनको कालापत्थरमा नृत्य



काठमाडौं ।

नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुशन तामाङले गिनिज विश्व रेकर्डका लागि सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गरेका छन्। उनीहरूले सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको नृत्य विधाका लागि यो प्रयास गरेका हुन्।

गत आइतबार पाँच हजार चार सय ३८ मिटरको उचाइमा दीपक बज्राचार्यको गीत मन मगनमा दुई मिनेट ३० सेकेन्ड नृत्य गरेका थिए। उनीहरूको टोलीमा फोटोग्राफर सौगात कार्की, तथा भिडियोग्राफरद्वय उमेश सापकोटा र सोनम केसी थिए।

खराब मौसमका बाबजुद २०/२५ जना दर्शकको उपस्थितिमा आधिकारिक रेकर्डका लागि नृत्य गरेका थिए। सुरेन्द्र र सुशनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन्।

गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा कार्यक्रम गरिएको थियो। सुरेन्द्र र सुशनका अनुसार कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाण गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ।

दुईपटक आठ हजार मिटरका पाँच हिमाल आरोहण गरेर गिनिज वल्र्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा नृत्यको साक्षी बनेका थिए।

प्रतिक्रिया दिनुहोस्