हातेमालो बचतद्वारा जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना



घोराही ।

घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सेयर सदस्यलाई स्वास्थ्य सचेतना प्रदान गरेको छ ।

उमेर बढ्दै जाँदा देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिन सचेतना कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष भगवती शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा। रमेश कँडेलले जेष्ठ नागरिकले भोग्नुपर्ने स्वास्थ्य समस्यामा बारेमा जानकारी गराउनुभएको थियो ।

डा। कँडेलले कतिपय रोगहरु उमेर बढ्दै जाँदा देखिने भएकाले नियमित स्वास्थ्य जाँच गर्नुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकलाई हुन सक्ने सुगर, प्रेसर, अल्जाइमर, पार्किन्सन लगायतका रोगका बारेमा जानकारी दिंदै यसबाट बच्ने उपायका बारेमा बताउनुभएको थियो । उहाँले सुगरबाट बच्नका लागि चिनी हालेका कुनै पनि खानेकुरा नखान सुझाव दिनुभयो । चिया, चकलेट, आइसक्रिम, केक, जेरी र सेल जस्ता खानेकुरा नखालका लागि सुझाव दिनुभयो ।

यस्तै बढी गुलियो हुने फलफूलहरु केरा, आँप, अंगुर र लिच्चि लगायतका फलफूल नखानका लागि सुझाव दिनुभयो । उहाँले भात, रोटी र आटो जस्ता खाद्यान्न थोरै खान सुझाव दिंदै दाल, तरकारी, काँक्रा, दही, दूध, अण्डा खान सकिने बताउनुभयो । उहाँले कटौरामा भात र थालमा तरकारी खाने हो भने सुगर बढ्नै नसक्ने जानकारी दिनुभयो ।

जेष्ठ नागरिकमा प्रेसरको समस्या देखिने भन्दै यसबाट बच्ने उपाय भनेको पहिलो नम्वरमा नुन कम खानुपर्ने बताउनुभयो । उहाँले खानेकुरा पकाउँदा नुन अन्तिममा राखेर मात्रै खान सुझाव दिनुभयो । प्रेसर भयो भनेर आत्तिनुपर्ने अवस्था नरहेको भन्दै नियमित स्वास्थ्य जाँच गराएर स्वास्थ्यमा देखिएका समस्याबाट बच्न सकिने बताउनुभयो ।

जेष्ठ नागरिकलाई अल्जाइमर हुने सम्भावना धेरै देखिने भन्दै यो रोग लाग्दा विर्सने समस्या हुने बताउनुभयो । भर्खरका कुरा विर्सने तर पुराना कुरा सँझने, एउटै कुरा दोहोराइरहने, शंकालु हुने, दिसा पिसाव गर्ने ठाउँ नै भूल्ने समस्या हुने डा। कँडेलले बताउनुभयो । उहाँले सामाजिक रुपमा घुलमिल हुने हो भने अल्जाइमरको समस्या धेरैहदसम्म कम हुने सुझाव दिनुभयो । स्वास्थ्यको क्षेत्रमा पहिलेको तुलनामा धेरै राम्रो अवस्था रहेको भन्दै रोगबाट बच्नका लागि धेरै उपचारविधी प्रयोगमा आएको बताउनुभयो ।

कार्यक्रममा सहभागि जेष्ठ नागरिकहरुले आफूले भोगेका समस्या र त्यसबाट बच्ने उपायका बारेमा जिज्ञासा राखेका थिए । हातेमालोले जेष्ठ नागरिक लक्षित कार्यक्रम राखेको भन्दै सहभागिले आगामी दिनमा यस्ता कार्यक्रम राख्न सुझाव दिएका थिए । कार्यक्रममा उपाध्यक्ष ऋषिराम शर्माले स्वागत र संचालन सचिव केशव दिपक न्यौपानेले गर्नुभएको थिो ।

हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सामाजिक दायित्व अन्तरगत आफ्ना सदस्य लक्षित गरेर विभिन्न कार्यक्रम संचालन गरिरहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । कार्यक्रममा ५० जना जेष्ठ नागरिकको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्