वनमा आगो लगाउने दुई युवक पक्राउ



रामेछाप ।

रामेछाप प्रहरीले बनमा आगो लगाएको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका १ गोठगाउँका २५ वर्षीय सुभाष महत र लिखु तामाकोसी गाउँपालिका ३ का २३ वर्षका अशोक महत रहेका छन् ।

उनीहरू रामेछाप नगरपालिका–१ मा रहेको कालिका देवी गाईखुरा सामुदायिक वन ठुलीभिर नजिकैको जङ्गलमा आगो लगाउँदै हिँडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप सिंहले बताए । अरोपिहरुले आरोप स्वकार गरेकाले आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको प्रहरी प्रमुख सिंहले जानकारी दिए । उनीहरूलाई वन ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

पछिल्लो समय वनमा आगोलागिको घटना बढिरहेकाले प्रहरीले आगो लगाउने व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको रामेछापका प्रहरी प्रवक्ता रञ्जन गिरिले बताए । यस वर्ष रामेछाप जिल्लाका १ सय ५५ स्थानमा डढेलो लागेको थियो । जसबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको डिभिजन वन कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्