‘सरु संगीत राष्ट्रिय पुरस्कार’ स्थापना



काठमाडौं।

लोकप्रिय सरु संगीतघरले नेपाली संगीतको श्रीवृद्धिका लागि तीन लाख रुपियाँको अक्षयकोषसहित ‘सरु संगीत राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । शनिबार एक समारोहकाबिच उक्त पुरस्कारको घोषणा गरिएको हो । नेपाली संगीतका क्षेत्रमा दीर्घसेवा पु¥याउने विशिष्ट संगीतकर्मीमध्ये एक जनालाई आगामी २०८२ देखि हरेक वर्ष नगदसहित सम्मान गरिने लक्ष्यका साथ उक्त कोष स्थापना गरिएको संगीतघरका निर्देशक एवं युवा संगीतकार डेनी निरौलाले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

संगीतघरको तेस्रो वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर स्थापना गरिएको उक्त कोष विसं २०५७ सालमा दिवंगत भएकी निरौलाकी आमा सरस्वती निरौलाको नाममा स्थापना गरिएको हो । स्वर्गीय निरौलाका श्रीमान् वरिष्ट संगीतकर्मी कोमल निरौला तथा उनका सन्तानको संयुक्त प्रयासमा उक्त कोष स्थापना भएको जानकारी दिइएको छ ।

पुरस्कारको राशी २५ हजार रुपियाँ निर्धारण गरिएको छ भने पुरस्कारका लागि तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको प्रबन्ध निर्देशक निरौलाले जानकारी दिए । पुरस्कृत व्यक्तित्व छनोटका लागि एक स्वतन्त्र व्यक्तिहरुको समिति गठन गरिने र उक्त संगीत घरको वार्षिकोत्सवका अवसरमा साउन महिनामा पुरस्कार वितरण गरिने पनि निरौलाले बताए । पुरस्कारका लागि चालिस वर्ष उमेर पुगेको र देश विदेशमा बसेर संगीत र नृत्यका क्षेत्रमा योगदान पु¥याएको प्रतिभा हुनुपर्नेछ ।

उक्त समारोहका प्रमुख अतिथिद्वय वरिष्ट संगीतकार शिलाबहादुर मोक्तान एवं गायिका कुन्ती मोक्तानले कार्यक्रमको उद्घाटन गर्दै कोष स्थापनाजस्तो पुण्य कर्मको प्रशंसा गरेका थिए । संगीत घरको तेस्रो वार्षिकउत्सव एवं सांगीतिक कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, पूर्वन्यायाधीश जीवनहरि अधिकारी, साहित्यकार रत्नमणि नेपाल, गीतकार राम भट्टराई, ललितपुर जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष तारा खनाल, महालक्ष्मी वडानम्बर ५ का वडाध्यक्ष कपिल केसी, नेपाली कांग्रेस महालक्ष्मी ५ इकाइ सभापति सूर्य बस्नेतलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम ललितपुरको महालक्ष्मी ५ सानागाउँस्थित बुद्ध पार्टी प्यालेसमा आयोजना गरिएको थियो । उक्त संगीत घर तीन वर्षअघि कोरोना कालको कठिन परिस्थितिमा स्थापना भएर नेपाली संगीतका क्षेत्रमा गायन, वाद्यवादन तथा नृत्यसम्बन्धी प्रशिक्षण प्रदान गर्दै आएको छ । कार्यक्रममा दुई दर्जनभन्दा बढी प्रशिक्षर्थीहरुले आफ्नो प्रस्तुुति दिएका थिए । प्रबन्ध निर्देशक निरौलाले समयसापेक्ष संगीत सिकाउँदै जाने र स्थानीय संगीतलाई पनि नयाँ पुस्तामा पु¥याउँदै जाने प्रतिबद्धता समेतव्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्