खिजी देम्बा गाउँपालिकाको ५२ प्रतिशत खर्चको विवरण सार्वजनिक



ओखलढुंगा ।

ओखलढुंगाको खिजी देम्बा गाउँपालिकाले तेस्रो चौमासिक सम्मको खर्च विवरण सार्वजनिक सुनुवाई मार्फत सार्वजनिक गरेको छ । यहि बैषाक २२ गतेका दिन पालिकाको खिजी बजारमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेर हाल सम्मको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

पालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा कुल बजेटको ५२.५४ प्रतिशत रकम खर्च भएको देखिएको छ । चालु तर्फ ३६ करोड २० लाख २२ हजार बत्तीस रुपैयाँ बजेटमा २१ करोड १९ लाख १४ हजार ७ सय बयासी रुपैयाँ खर्च भएको देखिन्छ । यसै गरी पुँजीगत तर्फ १३ करोड ४१ लाख ३० हजार ८ सय बाह्रा रुपैयाँ बजेटमा ४ करोड ७९ लाख २९ हजार १ सय चौसट्ठी रुपैयाँ मात्रै खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

विषयगत शीर्षकको खर्च विवरणमा सामाजिक विकास क्षेत्रमा सबै भन्दा धेरै २० करोड २५ लाख ८७ हजार रकम विनियोजन गरिएको र ११ करोड १७ लाख १२ हजार ६ सय सात रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पालिकाले सामाजिक विकाश क्षेत्र अन्तर्गत शिक्षामा १४ करोड १० लाख ३३ हजार बजेट विनियोजन गरेको थियो । पालिकाकै पहिलो प्राथमिकतामा रहेको शिक्षा क्षेत्रमा ५८ प्रतिशत रकम खर्च भएको देखिन्छ ।

पर्यटनको अधिक सम्भावना रहेको खिजी देम्बा गाउँपालिकामा पर्यटनका लागी बजेट विनियोजनमा भने कञ्जुसाई गरेको देखिन्छ । कम बजेट विनियोजन गरिएको पर्यटन क्षेत्रको खर्च भने लगभग शत प्रतिशत हुने देखिएको छ । १० लाख रुपैयाँ मात्रै विनियोजन गरिएको यस शीर्षकमा ९७ प्रतिशत रकम खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ ।

योजनाहरू कार्यान्वयनको तहमा रहेकाले आर्थिक वर्षको अन्तिम समय सम्म शत प्रतिशत रकम खर्च हुने गाउँ पालिका अध्यक्ष गम्बु शेर्पाले बताएका छन् । ठुला ठुला योजनाहरू सम्पन्न भई सकेको र भुक्तानीको काम मात्रै बाकी रहेको र सम्पन्न भएका योजनाहरुको रकम भुक्तानी हुने बित्तिकै खर्चको प्रतिशतमा बृद्धी हुने खिजी देम्बागाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुनुवारले बताएका छन् ।

१ करोड ९० लाख ८० हजार आन्तरिक राजस्वको लक्ष राखिएकोमा करिब १० लाख मात्रै राजस्व संकलन भएकाले लक्षित बजेट विनियोजन र वास्तविक बजेट खर्चमा फरक पर्ने खिजी देम्बा गाउँपालिकाका लेखा प्रमुख दीपक घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्