मेगनमाथि संगिन आरोप



एजेन्सी ।

अमेरिकी र्‍यापर मेगन थी स्टालियनमाथि उनका फोटोग्राफरले संगिन आरोप लगाएका छन्। उनका फोटोग्राफर एमिलियो गार्सियाले उनीविरुद्ध मुद्दा दायर गर्दै आफूलाई मेगनले यौन सम्बन्ध बनाइरहेको हेर्न बाध्य पारेको आरोप लगाएका छन्।

अमेरिकन सञ्चारमाध्यम युएसए टुडेका अनुसार लस एन्जलसको उच्च अदालतमा दायर सो मुद्दामा उनले सन् २०२२ मा मेगनको साथमा स्पेन जाँदा कारमा यात्रा गर्ने क्रममा एक महिलाका साथ मेगनले यौन सम्बन्ध बनाएको र त्यस परिस्थितिले आफूलाई असहज भएको उल्लेख गरेका छन्।

कार गुडिरहेका कारण आफू बाहिर निस्किन नसकेको र निस्किए पनि अन्जान ठाउँमा जाने ठाउँ नभएकाले उक्त घटनाबाट लज्जाष्पद भए पनि त्यहाँ बसिरहन बाध्य भएको उल्लेख गरेका छन्।

साथै मेगनले आफूलाई गलत तरिकाले कामबाट निकालेको समेत बताएका छन्। सो घटनाको भोलिपल्ट मेगनले उल्टै आफ्नो बेज्जत गरेको र सो घटनाबारे कसैलाई नभन्न धम्की दिएको बताएका छन्।

गार्सियाले आफूलाई कामबाट निकालेपछि र मुद्दा दायर गर्दा भएको सम्पूर्ण आर्थिक नोक्सान पनि भर्नुपर्ने माग राखेका छन्। तर, मेगनको तर्फबाट उनका वकिल एलेक्स स्पिरोले गर्सियाले पैसाका लागि गलत आरोप लगाएको बताएका छन्।

‘यो सबै मेगनको बेज्जत गर्ने र उनलाई लज्जाष्पद अनुभव गराउन गरिएको हो,’ उनले भनेका छन्। उमेरले २९ वर्षकी मेगन आफ्नो फ्री स्टाइलका लागि अमेरिकन र्‍याप संगीतमा चर्चित छिन्।

प्रतिक्रिया दिनुहोस्