एल क्लासिकोमा रियल विजयी



एजेन्सी ।

स्पेनिस ला लिगाको एल क्लासिकोमा भिडन्तमा रियल मेड्रिड विजयी भएको छ। आइतबार राति ला लिगाको चिरपरिचित प्रतिद्वन्द्वी दुई टोलीबीच भएको ‘एल क्लासिको’ भिडन्तमा रियल मेड्रिडले बार्सिलोनालाई ३–२ गोलअन्तरले पराजित गरेको हो। जुड बेलिङ्गमले इन्ज्युरी समयमा गरेको गोल निर्णायक बनेपछि रियलले जित हासिल गरेको थियो।

बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएर पनि जितलाई आत्मसात गर्न सकेन । खेलको छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले राफिन्हाको कर्नरलाई हेडमार्फत गोल गरेका थिए । तर, १८ औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा फर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनाले दोस्रो पटक अग्रता लिएको थियो। तर, त्यो अग्रता पनि लामो समयसम्म टिक्न सकेन। ७३ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङ्गमले गोल गर्दै रियललाई घरेलु मैदान सान्टियागो बर्नाबाउमा जित दिलाए। जितपछि रियलले ३२ खेलबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । समान खेलबाट बार्सिलोनाको भने ७० अंक छ।

प्रतिक्रिया दिनुहोस्