संगीतकार डंगोल सम्मानित



काठमाडौं ।

संगीतकार जुगल डंगोल रजत संगीत सम्मान २०२४ बाट सम्मानित भएका छन्। हालै ललितपुरमा सम्पन्न सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२४ मा संगीतकार तथा संगीत संयोजक डगोल रजत संगीत सम्मान २०२४ बाट सम्मानित भएका हुन्।

पावर इन्टरनेशनल मिडिया नेपालद्वारा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संगीतकार डंगोललाई सो सम्मान प्रदान गरेका हुन्।

कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेलजस्तो प्रस्तुत गरेकी थिइन् भने बाँसुरीवादक नगेन्द्र राईले जुगलकै संगीतकोे बाँसुरी धुन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्कृतिकर्मी चन्द्रकुमार राई, साहित्यकार हरिसिंह थापालगायतलाई सम्मान गरिएको थियो भने पाँच हजार पाँच सय ५५ रुपियाँ नगद राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

४२ विधामा अवार्ड प्रदान गरिएको समारोहमा आधुनिक विधातर्फ यस कुमारले गायक, निता आचार्यले गायिका, नरहरि प्रेमीले संगीतकार, टेक तामाङले गीतकार र सविता पोख्रेलले महिला गीतकारको अवार्ड चुमे।

राष्ट्रिय भावको गीततर्फ कर्माले गीत, रुपशेखर शर्माले गजल, संगीता राना प्रधानले जुरी अवार्ड, डेविड शँकरले पपगायक, नवीन कार्कीले लोक पपगायन, सागर लम्साल (बले) र एन जेड सालुले लोकदोहोरी मोडल, हेमन्त कान्छा रसाइलीले मौलिक गीत, सागर बास्तोलाले लोकदोहोरी रचना, ऋषि खड्काले लय, केशवराज भट्टले आधुनिक/पप भिडियो निर्देशक, राजटाइगर र अश्विनी शाहीले मोडलको अवार्ड उचाले।

त्यसैगरी समावेशीतर्फ शान्ति शाहीले डेउडा गीत, प्रेमनारायण झाले मैथली भोजपुरी गीत, नातिकाजी महर्जनले नेपाल भाषाको गीतकार, मनराज नकर्मीले संगीतकार, मोहन शाक्यले गायन र दर्शन वीर शाक्यले नेपाल भाषाको म्युजिक भिडियोको अवार्ड प्राप्त गरे।

कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमले प्रतिभालाई प्रोत्साहन मिल्नु साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्सालले यस्ता कार्यक्रम राज्यले गर्नु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्