अटिजम प्रभावितका लागि स्वीकार



काठमाडौं ।

विश्व अटिजम सचेतना दिवस, २०२४ को अवसर पारेर हालै एक शन्देशमूलक गीत म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

अटिजम प्रभावितहरूको अवस्थालाई समयमै स्वीकार गरी राम्रो सामाजिक वातावरण दिनुका साथै अन्तरनिहित प्रतिभा चिनेर उनीहरूको विकासमा टेवा पुर्‍याउने हेतुले निर्मित गीत स्वीकारमा पुष्पन प्रधानको स्वर, हरि लम्सालको संगीत तथा संगीत संयोजन, पावका शर्माको गीत कन्सेप्टका साथै महेश्वरमान राजभण्डारी मिक्सिङ र मास्टरिङ रहेको छ।

गीतमाथि कथा सुहाउँदो भिडियो तयार पारिएको छ। जसमा बाल कलाकार शुभम बर्तौला, अभिनेता लामिछाने र अभिनेत्री मेनुका प्रधानले अभिनय गरेका छन्। भिडियोको छायांकन अंशु बस्नेतको छ भने म्युजिक भिडियोको निर्देशन लोकेश बज्राचार्यले गरेका छन्।

स्टुडियो साउन्ड मिल र अवानी फाउनडेसनको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता र ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठको सभापतित्वमा गीत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा समालोचक, निर्देशक, लेखक, सञ्चारकर्मी तथा कार्यक्रमका विषेश अतिथि प्रकाश सायमी, फान्डेसनकी संस्थापक अध्यक्ष प्रज्ञा श्रेष्ठ प्रधान, समाजसेवी दिनेश खनाल, राष्ट्रिय अपांग महासंघकी सचिव सिर्जना केसीलगायतले मन्तव्य राखेका थिए। स्वीकारका गीतकार नरेश प्रधान आफैं मस्तिष्क पक्षाघात बालिकाको अभिभावकसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्