फेसन शोमा निर्मिति नव्यता



काठमाडौं ।

राजधानीको बौद्धस्थित हायात रिजेन्सी होटलमा हालै सम्पन्न एक कार्यक्रममा फेसन, स्टाइल र ग्ल्यामरको समिश्रणमा अनुपम र मनमोहक सिर्जनाका विविध आयाम देखियो।

कार्यक्रममा नमुना कलेज अफ फेसन टेक्नोलोजीको १८औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनरले तयार पारेका आठ क्रिएटिभ वेयर गरी ७९ सिर्जना र्‍याम्पमा प्रस्तुत गरिए। नमुना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे सहभागीसँगै शुरू भएको ग्रायाजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा भएको थियो।

शान्ति र संमृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएका सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा सहभागी भएकी ज्ञानीशोभाको रनवे उपस्थितिलाई शान्ति र संमृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलले साथ दिएका थिए।

चार वर्षको ब्याचर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम सेमेस्टरको पढाइअन्तर्गतको प्रयोगात्मक परीक्षाको एक महत्वपूर्ण पाटोको रूपमा रहेको ग्राजुएसन फेसन शोमा यसपटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटी टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, र्‍याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टी अरा गरी आठ विविधतायुक्त अवधारणामा पहिरन प्रस्तुत गरिएका थिए।

हरेक राउन्डको अन्तिम सिर्जना, कल्पना, मिहिनत र मेकिङ अद्भुत समायोजन भएका क्रिएटिभ वेयरले रनवेमा उपस्थिति जनाएको थियो। जसअन्तर्गत मोडलले क्रिएटिभ वेयर तथा सोही क्रिएटिभ वेयरको मिनी भर्सन अर्थात् डल ड्रेसस्वरुप एक साथमा अनुभव गरिएको थियो। यो फरक समायोजन र प्रस्तुतिले उपस्थित फेसन पारखीका माझमा थप रोमाञ्चता सञ्चार गरेको महसुस सहभागीले गरे।

२३ युवती मोडल र नौ युवा मोडलको प्रस्तुतिमा सम्पन्न फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरको आयोजना, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो। कार्यक्रमको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

कार्यक्रममा नमुना कलेजद्वारा प्रकाशित फेसन क्याटलग तेस्रो संस्करणको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. शैलेशमणि पोखरेल, रजिस्ट्रार निलमणि पोखरेल, व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, एग्ज्याम कन्ट्रोलर बलेन्डु हमाल तथा नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरद्वारा संयुक्तरूपमा विमोचन गरिएको थियो।

सिर्जनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैली पदार्पण भएको नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेज्मेन्ट शीर्षकअन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा निर्मिति नव्यता शीर्षकअन्तर्गत उक्त फेसन शोले मूर्त रूप पाएको हो।

उक्त परीक्षारुपी फेसन शोमा फेसन अध्यापकद्वय राजेन्द्र सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र सविना चौधरी, साखः ग्रुपका अध्यक्ष किरण साखः, राष्ट्रिय सीप परीक्षण समितिका कार्यकारी निर्देशक डा. कुलबहादुर बस्नेत, प्रोफेसर डा. जया प्रधान तथा उद्यमी व्यवसायी एवं पियर क्लोदिङका संस्थापक अध्यक्ष पशुपति देव पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्