गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा



कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भए पनि उनले त्यसो नगरी पदबाट राजीनामा दिएका हुन्। विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताए।

राजीनामा दिएसँगै पाण्डे आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन दाबी गर्ने रणनीतिमा लागेका छन्। उनले पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने गरी तयारी थालेका हुन्।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्। गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ।

प्रतिक्रिया दिनुहोस्