व्यापारी श्रेष्ठको हत्यामा संलग्न माओवादी नेता खाम पक्राउ

आँशुको मूल्य न्यायले पखालिदिन अनुरोध



हत्या आरोपित कालीबहादुर खाम र रातो घेरामा मारिएका रामहरि श्रेष्ठ ।

काठमाडौं ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता कालीबहादुर खामलाई काठमाडौं प्रहरीले ठमेलबाट पक्राउ गरेको छ।

माओवादीका तत्कालीन तेस्रो डिभिजनका कमान्डरसमेत रहेका खामविरुद्ध हत्या, ठगी र अपहरणको आरोपमा प्रहरीले खोजीको सूचीमा राखेको थियो।

वि.सं २०६५ वैशाख १५ गते खामको प्रत्यक्ष निर्देशनमा श्रेष्ठको हत्या भएको थियो । व्यापारी श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिएर चितवनको शक्तिखोरस्थित माओवादीको शिविरमा पु¥याई हत्या गरिएको थियो । श्रेष्ठको घरमा जनमुक्ति सेनाको सम्पर्क कार्यालय रहेको थियो।

श्रेष्ठको घरमा रहेको सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपियाँ नगदसहित हतियार चोरी भएको भन्दै माओवादी निकटमा रहेर व्यापार गर्दै आएका व्यापारी श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर माओवादी लडाकु शिविर शक्तिखोर पुर्‍याइएको थियो।

शक्तिखोर पुर्‍याइएका श्रेष्ठमाथि पासविक तरिकाले कुटपिट गरेपछि उनको २०६५ वैशाख २८ गते शिविरभित्र नै मृत्यु भएको थियो । शिविरमा श्रेष्ठको मृत्यु भएपछि उनको शवलाई नारायणी नदीमा लगेर फ्याँकिएको थियो। श्रेष्ठको मृत्युपछि श्रीमती रमिला श्रेष्ठले श्रीमान्को अपहरणपछि हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिनुभएको थियो।

उक्त अपहरणका योजनाकारसमेत रहेका तेस्रो डिभिजनअन्र्तगत ब्रिगेड कमान्डर रहेका गोविन्द बटालासहित तेस्रो डिभिजनका कमान्डर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौंमा कर्तव्य ज्यान मुद्दा चलेको थियो।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो ।
खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरूका मुद्दा अदालतले मुल्तबीमा राख्ने आदेश दिएको थियो । जिल्लाको फैसलापछि बटाला थुनामा गएका थिए । सोही काण्डका अर्का प्रतिवादी कार्कीलाई २० हजार रुपियाँ जरिवाना गर्ने फैसला सुनाइएको थियो ।

बटालाले आफूले १७ लाख र एक पेस्तोल हराएको घटनाको अनुसन्धानका लागि व्यवसायी श्रेष्ठ, अधिकारी र थापालाई नियन्त्रणमा लिएको स्वीकारेका थिए। बाहिरबाट ढोका बन्द गरी तीन जनालाई एकै कोठामा राखेकोमा अधिकारी र थापाको कुटपिटबाट श्रेष्ठको मृत्यु भएको भन्दै बटालाले अपत्यारिलो बयान दिए पनि सर्वोच्च अदालतले अपहरणमा संलग्न रहे पनि हत्यामा संलग्न नरेहेको भन्दै बटालालाई २०७६ फागुन १७ गते सफाइ दिएको थियो ।

यता, खामविरुद्धको मुद्दा चितवन जिल्ला अदालतमा मुल्तवीमा रहेको छ । खामलाई अदालत उपस्थित गराएपछि कारबाही प्रक्रिया अघि बढाइने भएको छ। खामविरुद्ध काठमाडौं जिल्ला अदालतमा हातहतियार, खरखजना र यार्सागुम्बा लुटपाट मुद्दा भने विचाराधीन अवस्थामा नै रहेको छ।

माओवादी नेताको संरक्षणमा लुकेर बसेका खामले अवैध गतिविधि सञ्चालन गर्दै आएका थिए । खामलाई त्यसबेला पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले संरक्षण गर्दै आएको आरोप लाग्ने गरेको थियो । खाम अहिले माओवादी पार्टीभित्र सुरक्षा विभागको सदस्यको रूपमा कार्यरत छन् । सो विभागको प्रमुखमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा रहनुभएको छ ।

यसैबीच आफ्नो श्रीमान्को हत्याका आरोपित कालीबहादुर खाम पक्राउ परेपछि कारबाही गरेर आफूलाई न्याय दिन रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले माग गर्नुभएको छ । उहाँले ढिलै भए पनि आफ्नो श्रीमान्को हत्या गर्ने व्यक्ति पक्राउ परेको भन्दै १५ वर्षसम्म बगेको आँशुको मूल्य न्यायले पखालिदिन सरकारसँग अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्