शंकरदास वैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको  निर्देशन 



काठमाडौँ।

 उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा गठित राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन  तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मङ्गलवार गृह मन्त्रालयमा सरोकारवालाबिचको छलफलमा  गृहमन्त्री लामिछानेले  विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्न, एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरे।

यस्तै उनले त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग नगर्न गृह मन्त्रालयका अधिकारीलाई आग्रह गरेका छन्।  नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्ने साथै  त्रिभुवन विमानस्थलमा कार्यरत प्रायः सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन र उनीहरुको आगमन र प्रस्थान व्यवस्थित गर्न आत्यावश्यक रहेको उनले औँल्याएका थिए।  भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौतीसमेत बढेको उनीहरुको  भनाइ थियो।

सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य  गर्न गृहमन्त्री लामिछाने जोड दिएका छन्।  उनले तत्कालै परिवर्तनको अनुभूति गर्ने गरी नागरिकलाई सुरक्षा र सेवा दिन निर्देशन दिए। उनले  नागरिकलाई सेवा दिने, अन्तर्राष्ट्रिय पहिचान स्थापित हुने र सुरक्षाजस्तो संवेदनशील विषयमा बजेटको अभाव छ भनेर नपन्छिन आग्रह गरे ।

 छलफलमा गृह मन्त्रालय (सचिव), अर्थ मन्त्रालय (सचिव), संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (सचिव), नेपाल प्रहरी (महानिरीक्षक), सशस्त्र प्रहरी बल (महानिरीक्षक) नेपाल नागरिक उड्डयन प्राधिकरण (महानिर्देशक), नेपाल वायुसेवा निगम (महाप्रबन्धक), अध्यागमन विभाग (महानिर्देशक), अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, भन्सार कार्यालय त्रिभुवन विमानस्थललगायत प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन, दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न, आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत इन्टलिजेन्स् बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्राविधि सुधारलगायत पक्षमा सुझाव दिएको छ।

विमानस्थलबाट बाहिरिएको करिब ६१ केजी सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदाश वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्