कांग्रेस सुध्रिए लोकतन्त्र सुदृढ हुन्छ : उपसभापति गुरुङ



सुनसरी। 

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ्गले कांग्रेस सुध्रिए लोकतन्त्र सुदृढ हुने बताएका छन्  ।
कांग्रेसका हरेक नेताले बाेली र व्यवहारमा एकरूपता ल्याउन सकेमात्र जनताले कांग्रेसलाई साथ दिने कुरामा गुरुङले जोड दिए  ।
गुरुङले साे कुरा शुक्रवार नेपाल प्रेस युनियन जिल्ला शाखा सुनसरीले इटहरीमा आयोजना गरेको लाेकतन्त्रमा सञ्चार माध्यम भूमिका विषयक अन्तरक्रियामा बताएका हुन् ।

गुरुङले आफू कृष्ण प्रसाद भट्टराई,सुशील र बीपि कोइरालाको अनुयायी भएको बताउँदै जनताको घर बनाेस भन्ने बीपि,रित्तो हात डेरा फर्कने भट्टराई र मुलुकलाई सिङ्गो संविधान दिने सुशीलबाट पाठ सिक्नु पर्ने बताए । साथै उनले  झुपडीमा जन्मिएको कुराले गर्व गर्छौँ भन्ने नेताहरूले सत्तामा पुग्ना साथ राजधानीमा महल ठडाउने गलत प्रवृत्ति बन्द गराैं भने ।

कार्यक्रममा काेशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले काेशी प्रदेश सरकार संबिधानत पूरा कार्यकाल सञ्चालन हुने बताएका छन् ।

कार्कीले याे सरकारले मध्यावधि पनि गराउँदैन, अव २ वर्ष विश्वासको मत लिन पनि पर्दैन भन्दै उनले  बागमती प्रदेशमा  सरकार परिवर्तनको स्याल कराई सुरु भए पनि काेशीमा स्याल कराउन नसक्ने बताए ।

उनले  काेशी प्रदेश सरकारका बारेमा चित्ता लिनु आवश्यक छैन भन्दै सरकार परिवर्तन के हुन्छ भनी गरिने प्रश्न र प्रश्नकर्तालाई गहिरिएर संविधान हेर्न सुझाए।

साथै मुख्य मन्त्री कार्कीले पत्रकारकाे कलमले सुन्दर समाजको निर्माण गर्न सक्ने बताए । उनले  सञ्चार माध्यमले समाजमा लागेको आगो  निभाउन सक्ने तागत राख्ने बताउँदै सञ्चार कर्मलाई लाेकतन्त्रकाे संस्थागत  विकासमा  लगाउन आग्रह गरे ।

नेपाल प्रेस युनियनको शनिवार इटहरीमा हुने केन्द्रीय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा सुनसरी शाखाले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
शाखा अध्यक्ष ध्रुव ढकालको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल,काँग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा,काँग्रेस जिल्ला सभापति केदार ढुङ्गाना लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्