उदयपुर ।
उदयपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । बुधबार पिपलचोकमा भेला भएर बजार परिक्रमा गरेर पिपलचोकमा नै सडक नाटक प्रदर्शन गर्दै अभियान सुरु गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश उपसभामुख सृजना दनुवारले महिला हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न कानूनी व्यवस्था कार्यान्वयनसँगै सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
सोह्र दिनसम्म मनाइने अभियानको उद्घाटन समारोहमा त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई, प्रहरी प्रमुख राजन चापागाइ विभिन्न संघसंस्थाको प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने नारा सुरु गरिएको अभियानमा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सदरमुकाम गाईघाटमा र्याली सडक नाटकको शुभारम्भ गरिएको त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले बताउनु भयो । उपप्रमुख राईका अनुसार महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र कायकल्प उदयपुरको सहकार्यमा उमेर नपुगी गरिने विवाह न्यूनिकरणका लागि सडक नाटक प्रदर्शन गरिएको थियो ।
महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । डोमिनिकन गणतन्त्रका तीन राजनीतिक अभियन्ता मिराबल दिदीबहिनीको स्मृतिमा यो दिन चयन गरिएको हो ।
तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा सन् १९६० मा उनीहरूको हत्या गरिएको थियो । महिलामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रियस्तरमा आवाज उठ्दै गएपछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ डिसेम्बर २० मा प्रस्ताव नम्बर ४८÷१०४ मार्फत महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र पारित गरेको थियो ।
सन् २००० फेब्रुअरी ७ मा नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिइएको थियो । यसै अवसरमा सन् २०२६ मा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन गरिएको उदयपुरका महिला अधिकारवादी संस्थाहरुले जनाएका छन् ।








तपाईंको विचार लेख्नुहोस्