उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियास्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका पीडित परिवारलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ ।

नगरपालिकाका नगर प्रमुख कालुमान लामाले बुधबार घटनास्थलमै पुगेर आगलागी पीडित प्रेम राईको परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रमुख लामाले नगर प्रवक्ता एवं वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत तथा नगरपालिकाका कर्मचारी हिरा सापकोटासहित घटनास्थलमा पुगेर पीडित परिवारलाई डसना, सिरक र झुल २÷२ थान, चामल एक बोरा, दाल, नुन, तेल, थाल त्यसै गरि कचौरा र गिलास ४÷४ थान तथा डेक्ची, कराई र त्रिपाल १÷१ थान उपलब्ध गराउनुभएको हो ।
राहत सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले तत्कालको आवश्यकता सम्बोधन गर्न नगरपालिकाले आपत्कालीन राहत उपलब्ध गराएको बताउनुभयो ।
उहाँले प्रचलित नियम तथा कार्यविधिअनुसार नगरपालिकाबाट उपलब्ध गराउन सकिने थप सहयोगसमेत पीडित परिवारलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।गत मंसिर ८ गते दिउँसो करिब २ः३० बजे प्रेम राईको टिन र काठले बनेको एकतले घरमा अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो । आगलागीबाट घरभित्र रहेका नगद, सुनचाँदी, खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडासमेत जलेर नष्ट भएका थिए ।
आगलागीका कारण राईको घरसँगै नजिकै रहेका दुईवटा गोठसमेत जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आगलागीबाट प्रेम राईको घर तथा धनमाल र छिमेकी कुमार सिंह राईको गोठसमेत गरी करिब ७ लाख ६९ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रहरी चौकी हडियाबाट खटिएको प्रहरी टोली, स्थानीयवासी तथा चौदण्डीगढी नगरपालिकाको दमकलको सहयोगमा आगलागी करिब पौने चार बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।








तपाईंको विचार लेख्नुहोस्