उदयपुुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ स्थित एक निजी विद्यालयले विद्यार्थीहरुलाई सिकाउन र व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले एक दिने खाद्य महोत्सवको आयोजना गरिएको छ ।

गाईघाटस्थित सगरमाथा मोडेल स्कुलमा विद्यार्थीको पाककला, व्यावसायिक ज्ञान तथा सांस्कृतिक पहिचान अभिवृद्धि गर्ने उद्देश्यले फुड फेस्टिबल (खाद्य महोत्सव) आयोजना गरिएको हो ।
विद्यालयका कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूको सहभागितामा आयोजित फेस्टिबलमा विभिन्न संस्कृति र समुदायका २० भन्दा बढी परिकार प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो । विद्यार्थीहरूले समूहगत रूपमा सातवटा स्टल सञ्चालन गरी आफ्ना परिकारहरू बिक्री गरेका थिए ।
फेस्टिबलमा नेवारी, थारू लगायत विभिन्न समुदायका मौलिक खानाका परिकार समावेश गरिएको थियो । भक्का, मःमः, माछा रोस्टलगायतका परिकार विद्यार्थीहरूले आफैँ तयार गरी बिक्री गरेका थिए । विभिन्न समुदायको खानपान संस्कृति र परम्परालाई एउटै उत्सवमा समेट्दै विद्यार्थीहरूले सांस्कृतिक विविधताको परिचयसमेत दिएका थिए ।
फेस्टिबलमा विद्यार्थीहरूले समूहमा काम गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने, ग्राहकसँग व्यवहार गर्ने, सामग्री व्यवस्थापन गर्ने, मूल्य निर्धारण तथा बिक्री गर्ने जस्ता व्यावहारिक सीप सिक्ने अवसर पाएका थिए । कार्यक्रमबाट करिब एक हजार पाँच सय रुपैयाँ नाफा भएको आयोजकले जनाएको छ ।
विद्यालयको बाल क्लबका अध्यक्ष विपुल सापकोटाले फेस्टिबलले विद्यार्थीहरूलाई पाक शिक्षा सिकाउनुका साथै व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुगेको बताए । किताबी ज्ञानभन्दा व्यावहारिक सिकाइले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र उद्यमशील सोच विकास गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
कक्षा शिक्षकहरूको संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो । फेस्टिबलका संयोजक शिक्षक आयुस बस्नेतले विद्यार्थीको सक्रिय सहभागिता, मेहनत र सहकार्यका कारण कार्यक्रम सफल भएको जानकारी दिए ।
विद्यार्थीहरूलाई पढाइसँगै जीवनोपयोगी सीप सिकाउने उद्देश्यले फेस्टिबल आयोजना गरिएको उनले बताए ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम सापकोटाले उदयपुरका विद्यालयस्तरमा सम्भवतः फुड फेस्टिबल आयोजना गर्ने पहिलो विद्यालय सगरमाथा मोडेल स्कुल भएको दाबी गर्दै यस्ता सिर्जनात्मक तथा व्यवहारिक सिकाइका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।
विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन, सांस्कृतिक पहिचानको संरक्षण, सहकार्य र उद्यमशीलता विकासका लागि अतिरिक्त क्रियाकलापलाई शिक्षण सिकाइसँग जोड्दै आएको जनाएको छ । फुड फेस्टिबलले विद्यार्थीलाई सिकाइसँगै मनोरञ्जन र अनुभव आदानप्रदानको अवसर प्रदान गरेको विद्यालयको भनाइ रहेको छ ।








तपाईंको विचार लेख्नुहोस्