वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भन्दै ८० लाख भन्दा बढी ठगी गरेको अभियोगमा चारजना पक्राउ



काठमाडौं।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३० वर्षीय कृष्ण बहादुर राई, बाजुरा हिमाली गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुर महानगरपालिका-१० चापागाउँ बस्ने ४६ वर्षीय जिवन तामाङ रहेका छन् ।

पक्राउमध्ये रूपेश कुमार र कृष्ण बहादुरले क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया पठाईदिन्छु भन्दै २२ जना पीडितहरूबाट ८० लाख रूपैयाँ ठगी गरेको, पर्वराजले जापान पठाईदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको र जिवनले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै १ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश कुमार र कृष्ण बहादुरलाई काठमाडौं स्वयम्भूबाट तथा पर्वराज र जिवनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्