एमालेको नेतृत्व चुन्न वडातहमा अधिवेशनको सरगर्मी



स्याङ्जा ।

नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा नवौँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । प्रत्येक ३-३ वर्षमा गरिने अधिवेशन यो पटक भने २ बर्षमै हुदैछ । चैत्र २३ र २४ गते जिल्ला सदरमुकाम पुतली बजारमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेर तयारी थालेको एमाले अहिले वडातहको अधिवेसनमा जुटेको छ । पार्टीमा गुटगत राजनीतिको अन्त्य भएको दाबी गर्दै आए पनि दोस्रो तहका नेताले भने प्रदेश अधिवेशनबाटै गुटगत राजनीति मौलाएको बताउँछन् । यो रोग जिल्ला तहमा पनि देखिन थालेको छ ।

चैत्र १७ गते जिल्लाका ९७ वटै वडामा एकैदिन जिल्ला अधिवेशन प्रतिनिधि छनोट तयारीमा पार्टी जुटेको एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए । सबै वडा तहलाई प्रतिनिधि चुन्न पत्राचार गरिसकेको र सबै वडातहका पार्टीका सङ्गठित सदस्यहरु प्रतिनिधि छनोट प्रक्रियामा अगाडी बढेको अध्यक्ष गैह्रेले बताए । ६० जना सङ्गठित सदस्यबाट एक महिला सहित ३ जना प्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेको विधानमा रहेको छ । ६० भन्दा माथि  ३० जना बराबर एक जनाका दरले प्रतिनिधि चुन्ने व्यवस्था रहेको छ ।

त्यसैगरी उत्पीडित समुदायबाट भने पालिकास्तरबाट चुनिने व्यवस्था रहेको एमालेले जनाएको छ । हरेक पालिकामा ४० जना बराबर एक जना महिला सहित ३ जना जिल्ला अधिवेशन प्रतिनिधि चुन्न पाइने व्यवस्था छ । वडातहबाट र पालिकाबाट चुनिने प्रतिनिधि झण्डै ६ सय ५ जनाभन्दा बढी हुने अनुमान रहेको अध्यक्ष गैह्रेले बताए । वडातहबाट आएका प्रतिनिधिहरूको सङ्ख्याको आधारमा ५ प्रतिशत प्रतिनिधि जिल्ला बैठकले चुन्ने व्यवस्था एमाले केन्द्रीय निर्वाचन समितिले गरेको परिपत्रमा उल्लेख छ ।

नेकपा एमाले स्याङ्जामा हालसम्म नवीकरण गरेका सांगठित सदस्य ९ हजार १ सय ७१ जना रहेका छन् । यीनै सांगठित सदस्यहरुबाट जिल्ला अधिवेशन प्रतिनिधि चुनिने अध्यक्ष गैह्रेले बताए । जिल्ला अधिवेशनलाई भब्यरुपले सम्पन्न गर्न जिल्ला देखी वडातह सम्म कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन समेत दिएको नेकपा एमाले स्याङ्जाले जनाएको छ । चैत्र २३ र २४ गते हुने एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको उद्घाटनका लागि केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो पठाइएको अध्यक्ष गैह्रेले बताए । अहिलेसम्म अध्यक्ष आउन सक्ने वा नसक्ने भन्ने विषयमा केही जानकारी नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्