तत्काल वामपन्थी पार्टी एक हुने अवस्था छैन् : वरिष्ठ उपाध्यक्ष पोखरेल



उदयपुर। 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्काल वामपन्थी पार्टी एक हुने अवस्था नरहेको बताएका छन् । नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै पोखरेलले एमाले अहिलेको अवस्था पार्टी एक बनाउने पक्षमा नरहेको स्पष्ट पारे ।

 ‘अहिलेको गठबन्धनलाई आधार मानेर कहिले पार्टी एक हुन्छ भन्ने हल्ला गरेका छन्, त्यस विषयमा एमालेको कुनै सोच छैन, नयाँ गठबन्धन मुलुकको हितका लागि मात्र हो त्यति बुझ्नुस ।’पोखरेलले भने, ‘व्यक्तिगत हिसाबले एकल मान्छेहरु पार्टीमा आउन सक्छन्, तर यसको मतलब पार्टी नै एक हुने हो भन्ने हैन् ।’ ‘समाजवादी मोर्चा र वाम गठबन्धन अहिले आवश्यकता र त्यसको अर्थ पनि छैन, यो गठबन्धन मुलुकको समृद्धि र हितमा हो ।’

उनले विगतको गठबन्धन एमालेलाई जसरी पनि सिद्ध्याउने षडयन्त्रपूर्ण ढङ्गबाट बढेकाले नयाँ गठबन्धनको परिकल्पना गरेको हो, यो गठबन्धन राष्ट्रिय हित, स्वाभिमान, समृद्धिका लागि हो ।’ नयाँ गठबन्धनले मुलुकमा नयाँ खालको राजनैतिक समीकरण प्रारम्भ भएको बताए । उनले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनाहरुलाई साकार पार्ने महत्त्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बढ्नु सत्ता साझेदार दलहरुको आवश्यकता रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियान बिचैमा अलपत्र भएर लथालिङ्ग भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अव देशले राजनैतिक निकास पाउने र विकासले फड्को मार्ने बताए । उनले यहीँ गठबन्धनबाट एमालेले मिसन २०८४ को लक्ष्य हासिल गर्ने बताए । उनले नयाँ समीकरण सँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने बताए । पुर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले मुलकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न नया समीकरणको सरकार बनेको स्पष्ट पारे ।

पोखरेलले नयाँ समीकरणमा को प्रधानमन्त्री कति समयका लागि बन्ने र एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने भन्दापनि मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको बताए । उनले नयाँ समीकरणका लागि प्रधानमन्त्री आलोपालो भन्ने कहीँ कतै सहमति नभएको स्पष्ट पारे ।

त्यसैगरी उपप्रधान एवंम भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले पैसाकारण योजनाका कामहरु नरोकिने बताए । उनले मुलुकको अर्थतन्त्रमा क्रमिकरुपले सुधार आएकाले अव पैसाका कारण कुनै पनि योजनाहरु रोकिने अवस्था नरहेको बताए । राज्यको ढुकुटी रित्तिएकाकारण व्यवसायिहरुले यसअघि योजनाको काम ठप्प पारेको विषय स्वीकार गर्दै उनले एमाले सरकारमा सहभागी हुन् साथ मुलुकको अर्थतन्त्रमा व्यापक सुधार आएको स्पष्ट पारे । ‘यसअघि ठेकेदार कम्पनीले काम सम्पन्न भईसक्दा पनि भुक्तानी हुन सकेको थिएन,’ उपप्रधानमन्त्री महासेठले भने, ‘वर्तमान सरकारको चासो भौतिक पूर्वाधार निर्माणमा नै भएकाले काम गर्ने कुनै पनि व्यवसायीले भुक्तानीमा अल्झन खेप्नु पर्दैन ।’

नेकपा एमालेका केन्द्रीय कमिटीका सचिवसमेत रहेका महासेठले एमालेका कारण देश संकटबाट जोगिएको बताए । उनले मुलुकको हितका लागि जनताको भावनाअनुसार अहिलेको सत्तासमिकरण भएको स्पष्ट पारे ।

त्यसैगरी एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले कोसी प्रदेशको नेतृत्व एमालेले गर्ने बताएका छन् । उनले सर्वोच्च अदालतले विकल्प रहुन्जेलसम्म सरकार गठन गर्न सकिने व्याख्या गरेकाले विगठनको हल्लाको पछि नलाग्न आग्रह गरे ।

उनले भने न्यायालयले प्रस्ट व्याख्या गरिसकेको विषयलाई अपव्याख्या गरेर संसद विगठन हुन्छ भन्ने कुरामा कुनै सत्यता नरहेको बताए । उनले केदार कार्की नेतृत्वको सरकार उपधारा ५ बमोजिम बनेपनि बहुमतको सरकार बनाउन संविधानले मार्गप्रसस्त गरेको बताए ।
उनले राष्ट्रिय राजनीतिमा आएको फेरबदल सँगै सातै प्रदेशमा सरकार परिवर्तन हुने र कोशी प्रदेश एमालेकै नेतृत्वमा हुने सत्ता साझेदार दलविच सहमति नजिक पुगेको बताए । ‘कोशी प्रदेशको शक्ति सन्तुलनको हिसाबले पनि एमालेले पाउने हो,’ एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीले भने, ‘ढुक्क हुनुस् अवको केहि दिनमा कोसी प्रदेशको नेतृत्व एमालेले गर्छ ।’

पुर्वमुख्यमन्त्री समेत रहेका कार्कीले एमाले कोशी प्रदेश विगठन र मध्यावधिको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, ‘व्यक्ति विगठन होला, सपना विगठन होलान तर संसद विगठन हुने अवस्था छैन, केवल सत्ताबाट बाहिरिनु परेपछि काँग्रेसको आक्रोश मात्र हो ।’

त्यस्तै अर्का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरचन राईले मिसन ८४ मा एमालेले कसैको वैशाखी र गठबन्धनमा निर्भर नरहने बताएका छन् । आगामी तीन वर्ष नेकपा एमालेको मिसन ८४ को वर्ष भएकाले यसविचमा जनताको कामलाई तीव्रता दिने बताए । उनले जनता विनाको नेता र पार्टी नहुने भएकाले जनताका आवश्यकतालाई मिहीन ढंगले अध्ययन गर्दै विश्वास जित्ने बताए ।

उनले मुलुकको समृद्धि र अर्थतन्त्र एमाले बाहेक दलबाट सफलता नहुने भएकाले ८४ मा एमाले एकल बहुमतको सरकार बनाउने अभियानमा अहिलेदेखि नै लागि परेको बताए । राईले एमाले नेतृत्वको सरकारले मुलुकको विकासमा उल्लेखित प्रगति हासिल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्