गुणस्तरीय सेवाको लागि प्रतिबद्ध हुन चिकित्सकलाई स्वास्थ्यमन्त्री यादवको निर्देशन 



 जनकपुरधाम ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि  प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नव निर्मित बर्थिङ्ग सेन्टरको समुद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन दिए।
उनले  भने – “सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।”

मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर , राजविराज र बिरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भैरहेकोे उल्लेख्य गरे।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका  सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत भैरहेको विकास निर्माणको चर्चा समेत गरे ।

यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिब ६ करोडको लागतमा निर्मित ७५ बेडको बर्थिङ्ग सेन्टरको शिलान्यास समेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी , संघिय स्वास्थ्य सचिव रोशन पोखरेल , अमेरिकी राजदूत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डित सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्