नेपाल प्रहरीको सफलता: एक वर्षमा २३ चर्चित अनुसन्धान सम्पन्न



काठमाडौं ।

नेपाल प्रहरीले पछिल्लो एक वर्षमा २३ वटा गम्भीर प्रकृतिका चर्चित सफल अनुसन्धान सम्पन्न गरेको छ। तीमध्ये सबैभन्दा चर्चित धर्मगुरु रामबहादुर बम्जन पक्राउदेखि ललिता निवास, ६० किलो सुन र भेपमा लुकाएर नेपाल ल्याएको सुन बरामद घटना संलग्न छन् ।

नेपाल प्रहरीले बिहीबार एकवर्षे प्रमुख कार्य उपलब्धि सार्वजनिक गर्ने क्रममा सो जानकारी गराएको हो। प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले एकवर्षमा सयौं सफल अनुसन्धान गरे पनि चर्चित एवं राष्ट्रिय स्तरको अनुसन्धानले संगठनलाई हौसला प्रदान गरेको बताउनुभयो।

उहाँका अनुसार एकवर्षमा बाल यौन शोषण गरेको कसुरमा रामबहादुर बम्जन, ६० केजी सुन प्रकरण,ललिता निवास प्रकरणमा किर्ते तथा संगठित अपराध कसुरको कारबाही, भेपमा लुकाई छिपाई सुनको अवैध पैठारी, हुन्डी कारोबारमा कारबाही, शिवशिखर र देउराली सहकारी ठगीलगायतका छन्।

कन्सलटेन्सीमार्फत् वैदेशीक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने, मानव बेचबिखन मुद्दामा ३२ वर्षपछि पक्राउ, २ किलो ६ सय ग्राम अवैध लागु औषध कोकिन बरामद, नक्कली भुटानी शरणार्थी प्रकरण, गैरीगाउँको सामूहिक हत्याकाण्ड, ललितपुरमा पेट्रोल छर्की आगो लगाएर हत्या, सुनसरीको लुटपाट तथा कर्तव्य ज्यान, धनुषाको अपहरण गरी जबरजस्ती करणी कर्तव्य ज्यान, हातहतियार र संगठित अपराध छन्।

रूपेशकुमार स्वर्णकारको गोली हानी हत्या, चितवनमा बोराभित्र मृत अवस्थामा भेटिएको कर्तव्य ज्यानसम्बन्धी घटना, भावना बिकको घाँटी रेटी हत्या, सल्यानमा आमाछोरीको हत्या, मुगुमा परिवारको सामूहिक हत्या, डडेल्धुरामा जबरजस्ती करणीपछि हत्या र मञ्जु रावलको हत्या काण्डमा सफल अनुसान्धान उल्लेख छ। हालसम्मको अनुसन्धानका क्रममा ५ वर्षअघि निर्मला पन्तको हत्याकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरी प्रवक्ता ढकालले एक वर्षमा ५९ हजार ६१ मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये सबैभन्दा बढी अपराध काठमाडौंमा भएको उल्लेख छ। काठमाडौं उपत्यका मातहतमा १७ हजार ३ सय ९७ र कर्णालीमा सबैभन्दा कम १ हजार ९ सय ६५ मुद्दा दर्ता भएका छन्।

सबैभन्दा बढी बैंकिङ कसुरमा मुद्दा दर्ता भएको डीआईजी ढकालले बताउनुभयो। उहाँका अनुसार बैकिङ कसुरमा १३ हजार २ सय ७७ मुद्दा दर्ता भएका छन् । महिला बालबालिकासम्बन्धी २१ हजार १ सय ९७ मुद्दा दर्ता भएका छन्।

महिला बालबालिकासम्बन्धी सबैभन्दा धेरै मुद्दा मधेस प्रदेशमा छन् । घरेलु हिंसामा १६ हजार ७ सय ४१, जबरजस्ती करणीमा १ हजार ४ सय ६८ मुद्दा दर्ता भएका थिए। पछिल्लो समयको ट्रेन्ड हेर्दा अधिकांश आपराधिक घटना आफन्त र चिनजानबाट हुने गरेको प्रवक्ता ढकालको भनाइ छ।

प्रहरीले एक वर्षमा ७ हजारभन्दा बढी आत्महत्याको घटना भएको जनाएको छ। आत्महत्याका ७ हजार १ सय ९४ मुद्दा दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ।

कोशी प्रदेशमा आत्महत्याका १ हजार ५ सय ३० वटा घटना दर्ता भएका छन्। जबरजस्ती करणी अपहरण तथा बन्धकलगायतका गम्भीर प्रकृतिका घटना कोशी प्रदेशमै भएको उल्लेख छ । बितेको एका वर्षमा गम्भीर प्रकृतिका ५ हजार १ सय ५० मुद्दा दर्ता भएका थिए। तीमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा १ हजार ६६ मुद्दा दर्ता भएका छन् । लागु औषधका ४ हजार २ सय ८८ मुद्दा दर्ता भएका छन् ।

प्रहरी पवक्ता डीआईजी ढकालले एक वर्षमा १३ हजार १ सय २२ फरार अपराधीलाई नियन्त्रणमा लिई कैद सजाय तोकी जरिवानाबापत १ अर्ब ९७ करोड, ९६ लाख १६ हजार ५ सय ३८ रुपियाँ जरिबाना तोकेको जानकारी दिनुभयो । धेरै दर्ता भएका १० वटा घटनाहरूमा ४५ हजार ७ सय ४५ मुद्दा दर्ता भएका छन् ।

तीमध्ये सबैभन्दा बढी बंैकिङ कसुरमा १३ हजार २ सय ७७ र कम सार्वजनिक शान्तिविरुद्ध ५ सय ३५ छन् । प्रहरीले कुल घटनाको ८२ प्रतिशत सफलता भएको उल्लेख छ ।

प्रहरीले एकवर्षे अवधिमा मिटर ब्याजसम्बन्धी १ सय ५२ मुद्दा दर्ता भएर ६ वटा मिलापत्र भएर १ सय ४६ वटा अनुसन्धानको क्रममा रहेको जनाएको छ । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको ‘रेड नोटिस सूचीमा ६५ नेपाली रहेका छन्।

प्रवक्ता डीआईजी ढकालले हाल रेड नोटिसमा ६५ र ३४ नेपालीविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको जानकारी दिनुभयो। रेड नोटिसमा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाका मुख्य आरोपित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई, सुमेरु सहकारीका किशोर महर्जनसहित ६५ नेपाली छन् ।

नेपाल प्रहरीले रेड नोटिस जारी गरिएका १३ जनालाई नेपाल झिकाएको जनाएको छ। प्रहरीले एक वर्ष अवधिमा विभिन्न आपराधिक घटनाबाट ६ अर्ब ६३ करोड ३९ लाख रुपियाँ राजस्व संकलन गर्न सफल भएको उल्लेख छ।

प्रवक्ता डीआईजी ढकालले एकवर्षे अवधिमा नेपाल प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो–‘प्रहरी कार्यालयको उल्लेखनीय सुधार भएको, ५सय ४६ स्थान, १ सय ८२ कार्यालय र १ सय १ हिरासत कक्षमा सीसीटीभी जडान गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्