हरिसिद्धि भवानीदेवीको १२ वर्ष मेला शनिबार समापन हुने



काठमाडौं।

एक हजार ७७ वर्ष पुरानो हरिसिद्धि भवानीदेवी (जलद्योः) को १२ वर्ष मेला यही चैत्र १७ गते शनिबार समापन हुने भएको छ ।
फुल्चोकी माईको विशेष पुजाआजा गरी मेला समापनका गर्न लागिएको हो।त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको हरिसिद्धि भवानी १२ वर्ष फुल्चोकीमाई पर्व सञ्चालन समितिले विहीबार पत्रकार भेटघाट गरी जानकारी दिइयो।

हरेक वर्ष योमरी अर्थात धान्य पूर्णिमा र फागु पूर्णिमाको दिन हरिसिद्धि भवानीको नाच देखाउँदै आएपनि १२ वर्षमा एकपटक हुने मेलामा फुल्चोकीमाईको दर्शन गर्ने परम्पराले अघिपछि भन्दा थप रौनकता थपिएको छ। धुलिखेल,पशुपति, दोलखा र पनौतीमा नाच देखाईसकेपछि अहिले सो नाच समापन गर्न लागिएको हो।

समितिका अनुसार यही शनिबार हरिसिद्धि भवानीका २९ जना देवगण परम्परागत कां बाजा, धिमे बाजासाथ भक्तजनहरुको लावालस्कर फुल्चोकी माईको दर्शन र धार्मिक विधिपूर्वक पुजाआजा गर्न फुल्चोकी डाँडातर्फ जानेछ। त्यसका लागि बिहान ४ बजेदेखि हरिसिद्धि भवानी मन्दिरको प्राड्डणमा भेला हुने क्रम शुरु हुनेछ ।

सो परम्पराले हरिसिद्धि भवानी र फुल्चोकीको जंड्डलसंगको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै आएको यसका संलग्न गुठीयारहरु बताउँछन्।प्रत्येक १२ वर्षमा हुने गोदावरीको प्रसिद्ध सिंहअष्ट मेलाको शुभारम्भ पनि भवानीका देवगणबाटै हुने परम्परा रहेको छ। देवगणहरुले गोदावरी कुण्डको ढोका खोलेर नुहाएपछि मात्र मेलाको शुरु हुने गर्दछ। देवगणहरुले ढोका बन्द गरेपछि मेला समापन हुने गर्दछ।

हरिसिद्धका स्थानीयको मृत्यू हुँदा दाहसंस्कारको लागि आवश्यक काठ फुल्चोकी डाँडाबाटै ल्याउने परम्परा रहेको छ। हरेक वर्ष असार १५ गतेसम्ममा वर्षा नभई रोपाई गर्न सकिएन भने फुल्चोकी माई (गुराहिटीमा)लाई पुजाआजा गरे पानी पर्ने जनविश्वास रहेको छ। यहाँको धार्मिक र सांस्कृतिक जीवनमा मुख्य भूमिका रहेका १० मुख्य देवगण(च्याभु पुजारी) र १९ सहायक देवगण(गण पुजारी) को नाच, नित्यपुजा, हरिसिद्धि भवानीसंग जोडिएको गुठीलाई स्थानीयले निकै महत्वका साथ लिएर सक्रिय सहभागिता जनाउँदै आएको समितिका संयोजक गणेश महर्जनले बताए।

फुल्चोकीमाईको दर्शन र पुजाआजा गरी गोदावरीको हरिसिद्धि चौरमा हरिसिद्धि भवानीको प्रतीक स्वरुप कलश विराजमान गराई देवगणहरुलाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ।

सो कार्यपछि सरकारी पुजा, श्रद्धालु भक्तजनहरुबाट पुजा गर्ने गरिन्छ। त्यसपछि भक्तजनको लावालस्करसहित देवगण बाँडेगाउँको जलःगाबाट ठैबको जलःचपाको बाटो हुँदै हरिसिद्धि भवानीको मन्दिर परिसरमा पुगेपछि मेला औपचारिक रुपमा समापन हुने ललितपुर महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष समेत रहेका समितिका संयोजक महर्जनले जानकारी दिए।

यस मेलाका सञ्चालनका ललितपुर महानगरपालिका वडा नं २८ र २९ ले आवश्यक सहजीकरण गर्ने, स्रोत साधन जुटाईदिने,सम्बद्ध पक्षसंग मिलेर व्यवस्थापनको भूमिका सहयोग पु¥याएको समितिले जनाएको छ ।

हरिसिद्धि भवानीको १२ वर्षको नाच स्थानीयको धार्मिक विश्वास, सांस्कृतिक र सामाजिक पक्षसंग अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै वडा नं २८ का वडाअध्यक्ष समेत रहेका अर्का संयोजक वीरेन्द्र महर्जनले भन्नुभयो ‘ यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दुई वटै वडा मिलेर लागिपरेका छौं ।’ साविकको हरिसिद्धि गाविस स्थानीय तहको पुनःसंरचनापछि महानगरपालिकाको २८ र २९ वडामा विभाजन गरिएको थियो।

१२ वर्षको नाच सञ्चालनका लागि आवश्यक २०७८ बैशाख २९ गतेदेखि शुरु भएको थियो।१० जना मुख्य देवगण (च्याभु पुजारी) लाई पुजा गरी, मृत्यू भएका देवगणको स्थान छोराहरु पुजारी वस्त्र धारण गराई यज्ञ, विशेष पुजाआजा र नाच प्रशिक्षण दिई १२ वर्ष नाचको लागि प्रक्रिया शुरु गरिएको थियो।त्यसबखत प्रत्येक घरका एक जना भोज (देय् भ्वय् ) खुवाईएको थियोे।

प्रतिक्रिया दिनुहोस्