१४ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले बागमतीको बैठक



काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो।

बैठकको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। बैठकमा महासचिव शङ्कर पोखरेलले बागमती प्रदेशमा अहिले पार्टी निर्माणको सन्दर्भमा गर्नुपर्ने कामको विषयमा प्रशिक्षण दिएका थिए। बैठकले आफ्नो पहिलो प्रस्तावमै जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्न सरकारसँग माग गरेको छ।

‘जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको जुन सङ्कल्प छ, त्यसलाई साकार पार्न बैठक जोडदार माग गर्दछ,’ बैठकबाट पारित प्रस्तावको पहिलो बुँदामा भनिएको छ। यसै गरी बैठकले संस्थागत भ्रष्टाचार, बेथिति अन्त्य गरी सुशासन कायम गर्न सरकारसँग जोडदार माग गरेको छ।

प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले दिएको जानकारीअनुसार बैठकले रुस र युक्रेनबीचको युद्धले नेपाली युवाहरूको ज्यान समेत गइरहेकोले युद्धग्रस्त देशहरूमा नेपाली युवाहरूलाई जानबाट रोक लगाउन, गइसकेका युवाहरूलाई अविलम्ब फिर्ता गर्न, बेपत्ता युवाहरूको खोजी गर्न र युद्धमा ज्यान गुमाएकाहरूको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि माग गरेको छ।

यस्तै बैठकले युवा पलायन रोक्न नेपाल सरकारले गुणस्तरीय, व्यावसायिक, प्राविधिक र उत्पादनमुखी शिक्षा प्रदान गर्न सरकारसँग जोडदार माग गरेको लामाले बताइन्।

बैठकले महँगी र कालोबजारी तत्काल नियन्त्रण गर्न, परम्परागत सीपलाई संरक्षण र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै उक्त उत्पादनको प्रयोगमा विशेष जोड दिन र गुणस्तरहीन वस्तुहरूको आयातमा रोक लगाउन सरकारसँग जोडदार माग पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्