आजबाट एसइई परीक्षा, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै 



काठमाडौं । 

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ। परीक्षामा  देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षा फाराम भरेका छन्।

गत वर्षको परीक्षाको तुलनामा करिब १० हजार सङ्ख्या घटेको हो ।  यो वर्ष करिब   सङ्ख्या २ लाख ५३ हजार ६ सय २७  छात्र र सङ्ख्या २ लाख ५० हजार ७ सय ७२ जना छात्राले परीक्षा दिँदै छन्। त्यसै गरी यो वर्ष १५ जना अन्य विद्यार्थीले  परीक्षा दिँदै छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको सबै तयारी पुरा भैसकेको जानकारी दिए। उनले परीक्षालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गरे।

सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका पुगिसकेको छ। प्रश्न पत्र केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा राखिएको छ। प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइने व्यवस्था मिलाइएको छ ।

परीक्षामा मा ७७ हजार ५ सय जनशक्ति परिचालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सुरक्षाकर्मी र कार्यालय सहयोगी सहित ७७ हजार ५ सय जनशक्ति परिचालन हुने जानकारी दिए। २ हजार ६४ केन्द्रका लागि उक्त जनशक्ति परिचालन गर्न लागिएको हो।

यो वर्ष सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १  सय २७ केन्द्र कायम गरिएको छ । भने  मनाङ , मुस्ताङ र जापानमा गरी एक–एक  परीक्षा केन्द्र कायम गरिएको छ।

जापानमा २३ विद्यार्थीले परीक्षा दिँदै छन्।  परीक्षा नियन्त्रक पौडेलका अनुसार सबैभन्दा बढी परीक्षार्थी पनि काठमाडौंमा ३८ हजार ८ सय १३  विद्यार्थीले परीक्षा दिँदै छन्।  परीक्षाको सबै व्यवस्थापन प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले गर्नेछ ।

यस वर्ष नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसइई परीक्षा गर्न लागेको हो। यो वर्षको  नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ र  प्रयोगात्मकमा ४० प्रतिशत  अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा छ। परीक्षा चैत २७ मा सकिनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षामा करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले यो वर्ष कोशी प्रदेशमा ३९ हजार, ६ सय ७५ छात्र र ४० हजार ४ सय ८४ छात्रा, मधेशमा ४२ हजार ४ सय ६ छात्र र ४० हजार ७ सय ७९ छात्रा, बागमतीमा ५३ हजार ३७ छात्र र ५० हजार ४ सय २० छात्रा, गण्डकीमा २१ हजार ६ सय ३६ छात्र र २० हजार ८ सय ५३ छात्रा सहभागी हुने जानकारी दिए।

लुम्बिनीबाट  ४५ हजार २ सय २१ छात्र र ४५ हजार ८ सय ५२ छात्रा, कर्णाली प्रदेशबाट १६ हजार २ सय छात्र र १६ हजार ३ सय १८ छात्रा  र सुदूरपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र र २८ हजार ७ सय १६ छात्रा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्