डर्ट टेम्पल  मोटोक्रस च्याम्पियनसिपको चौथौँ सिरिज हुँदै 



काठमाडौँ।

धुलिखेलस्थित नेपालको पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक डर्ट टेम्पलले, डिटी ९७७ एमएक्स च्याम्पियनसिप अन्तर्गतको चौथौँ रेस यही १५ र १७ गते  हुने भएको छ ।

जनवरीदेखि सुरु भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो । पाँच वटा रेससम्मको यस सिरिजले नेपाली मोटोस्पोर्टसलाई उचाइँमा पु¥याउन र नेपाली रेसिङ प्रतिभाको नयाँ पुस्तालाई प्रवर्द्धन गर्ने प्रयास गरेको छ । यस च्याम्पियन सिरिजको तेस्रो रेस सम्म पुरा भइसकेको छ भने   चौथौँ रेस १५ र १७ गते हुने भएको हो।

यस्तै फाइनल अर्थात पाँचौँ रेस एप्रिलको २५ र २७ गते धुलिखेलमा हुने छ । हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडी रहेका छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्स ल्याएर अग्रपंग्तिमा रहेका छन् ।

डिटी ९७७ एमएक्स च्याम्पियनसिप सिरिजले रेसरहरूलाई उनीहरूको सीप, प्रतिभा, र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित एप्रिलमा यस च्याम्पियनसिप पुरा हुने छ । यसका लागि निरन्तर प्रतिस्पर्धा र अभ्यास भइरहेको आयोजकले बताएका छन् ।

“यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो,“डर्ट टेम्पललका  इजब बरुण भन्छन्,“हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौँ ।

यस सिरिजमा दुई वर्ग रहेका छन् । खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँ रेसरहरू छन् भने एलिट वर्गमा प्रोफेसनल रेसरहरू छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा रहेका छन् । उनीहरुले रेसपछि उपाधी र क्यास प्राइजहरु जित्नेछन् । साथै एलिट वर्गको एक विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन् ।

डिटी९७७एमएक्स च्याम्पियनसिप सिरिज डर्ट टेम्पलको युट्युब च्यानलमार्फत लाइभ प्रसारण पनि हुने छ । साथै धुलिखेलमा खानाका स्टलहरू र मनोरञ्जनात्मक कार्यक्रमहरू समेता आयोजना गरिने आयोजकले बताएका छन् ।

यस सिरिजलाई क्रसफायर मोटरसाइकल्स नेपाल, रिस मोटो, एमएके लुब्रिकेन्ट्स नेपाल, आईएमई पे, वर्ल्डलिंक, प्याराडाइम स्पोर्ट्स नेटवर्क, र रेडबुल नेपालले प्रायोजन गरेका छन् । डर्ट टेम्पल रेसर विकासमा केन्द्रित रहनुका साथै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै र नेपालको मोटोक्रस क्षेत्रलाई विश्व स्तरमा पु¥याउने प्रतिबद्ध छ ।

के हो डर्ट टेम्पल 

डर्ट टेम्पल नेपालकै पहिलो र एक मात्र मोटोक्रस रेसट्र्याक हो, जसले रेसरहरूलाई उनीहरूको प्रतिभा देखाउने, आफ्नो सीपलाई सम्मान गर्ने र व्यावसायिक स्तरसम्म उनीहरूको महत्वाकांक्षालाई उचाइँ दिने मञ्च प्रदान गर्दछ। राजधानी शहरबाट ३२ किलोमिटर टाढा धुलिखेलको मुटुमा अवस्थित, डर्ट टेम्पलले नेपालमा मोटरस्पोर्टस र रेसिङ कल्चरलाई बढावा दिने लक्ष्य राखेको छ। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न सक्ने नयाँ पुस्ताका रेसरहरू तयार गर्नु डर्ट टेम्पलको उदेश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्