खानेपानी संस्थान कर्मचारी संगठनद्वारा मन्त्रीसमक्ष विभिन्न माग र सुझाव पेस 

सङ्गठनले दियो मन्त्री राईलाई बधाई 



काठमाडौँ। 

 नेपाल खानेपानी संस्थान कर्मचारी संगठन केन्द्रीय समितिले नवनियुक्त खानेपानी  मन्त्री राजेन्द्रकुमार राईलाई बधाई ज्ञापन  गर्दै खानेपानी क्षेत्रको सुधारका लागि विभिन्न माग तथा सुझाव पेस गरेको छ ।

 संगठनका केन्द्रीय अध्यक्ष समीर पण्डितको नेतृत्वमा मन्त्रालयमा पुगेको  कर्मचारीको एक समूहले बुधबार मन्त्री राईलाई बधाई ज्ञापन गर्दै विभिन्न १० बुँदे  माग तथा सुझावहरु  पेस गरेको हो ।

संगठनका अध्यक्ष पण्डितले नवनियुक्त मन्त्री राईलाई बधाई ज्ञापन गर्दै खानेपानी क्षेत्रमा देखिएका विभिन्न समस्या र चुनौती समाधानका लागि गम्भीर ध्यानाकर्षण गरिएको र मन्त्री राईले समस्या समाधानका लागि  सकारात्मक पहल गर्ने आश्वासन दिनुभएको बताए ।

 सङ्गठनले मन्त्री राई समक्ष बुझाएको १० बुँदे मागपत्रमा नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावली मन्त्रिपरिषद्बाट छिटो स्वीकृत हुनुपर्ने, संस्थान रहने वा नरहने विषयमा खानेपानी मन्त्रालय मन्त्रिस्तरिय निर्णयबाट गठित कार्यदलको प्रतिवेदन सम्बन्धमा ध्यानाकर्षण हुनुपर्ने, संस्थानबाट सञ्चालित दूरगामी असर पर्ने आयोजनाहरु झुम्सा खानेपानी आयोजना पोखरा अन्तर्गत कोलपाटन टंकी निर्माण अवरोध, राप्ती आयोजनाको जग्गा विवाद लगायतका समस्याहरु शीघ्र समाधान हुनुपर्ने, लामो समय देखि करार सेवामा रहेका कर्मचारीको सेवा सुरक्षा, ग्यारेन्टी गरी स्थायी कर्मचारीको लामो समय सम्म रोकिएको वृत्ति विकास कार्य प्रारम्भ गरिनुपर्ने रहेका छन् ।

 यसैगरि सङ्गठनले मन्त्री समक्ष राखेको अन्य मागहरुमा चौथो र पाँचौँ तहमा कार्यरत करार कर्मचारीलाई एक तह तल समायोजन गरी सेवा सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने , अनियमितता नियन्त्रण तथा पारदर्शिता कायम गर्दै परिणाममुखी आयोजनाहरु मात्र सञ्चालन गर्नु पर्ने, तहगत रुपमा कार्य विभाजन तथा जिम्मेवारी दिनुपर्ने , खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गरिनुपर्ने तथा सरुवा नीति बनाई प्रभावकारी तवरले कार्यान्वयन गरिनुपर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्