कृषि उत्पादन पनि समृद्धिको आधार हो  : उपसभामुख  दनुवार



उदयपुर । 

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोशी प्रदेश सरकारले किसानको हितमा काम गरिरहेको र कृषि उत्पादन नै समृद्धिको आधार भएको बताएकी छन् ।

बुधबार उदयपुरको त्रियुगा नगरपालिका १३ असारीमा सिंचाई कुलोको शिलान्यास गर्दै उपसभामुख दनुवारले हामी परम्परागत रुपमा खेती  गर्दै आएकोले अहिले पनि कृषिलाई नै आधार मानेर जीवन यापन गरिरहेको हुँदा भोलिका दिनमा कृषि क्षेत्रको विकासबाट नै देशमा समृद्धि हुने भएकोले कृषि उत्पादन बढाउन सिचाईको आवश्यकता भएको हुँदा उत्पादन बढाएर आर्थिक अवस्था सुधार हुने बताइन् ।

सो अवसरमा सिचाई तथा जलश्रोत कार्यालय उदयपुरका प्रमुख डिई उदित शाहीले कोशी प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको सहयोगमा सिँचाई कुलो बनाउन लागिएको र यसको कुल अनुमानित लागत २ करोड ५०लाख रहेको र हाल १६ लाख २० हजार रकम निकासा भएको बताए ।

त्रियुगा नगरपालिका १३ नम्बर वडाध्यक्ष नवीन चौधरीले साढे तीन किलोमिटर लामो कुलोले करीब एक  सय ५० हेक्टर जग्गा सिचाई हुने र पुरानो कुलोमा जोडेर थप जग्गामा सिचाईको व्यवस्था गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्