रामेछापमा ग्रामीण चलचित्र महोत्सव हुँदै



रामेछाप ।

 रामेछापमा तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा आगामी बैशाख ६ देखि ८ गते सम्म रामेछाप नगरपालिकामा महोत्सव गरिने आयोजक संस्थाले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

हरेक वर्ष फरक फरक जिल्लामा गरिने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म,सर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए । कार्यक्रमको बारेमा जानकारी गराउँदै सापकोटाले नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवमा समेटिने बताए । कार्यक्रमको निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् ।

महोत्सवमा करिब २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित व्यक्तिहरू सँग गाउँले दर्शकहरूले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरूलाई यो महोत्सवले पूर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने आयोजकले अपेक्षा राखेको छ ।

महोत्सवमा करिब ३ हजार दर्शकको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्