भन्सार छली  गरेर ल्याएको सुनसहित दुईजना पक्राउ 



काठमाडौँ। 

प्रहरीले भन्सार छली  गरेर ल्याइएको सुनसहित दुई जनालाई  पक्राउ  गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी  उपमहानगरपालिका -११ का  २६ वर्षीय सुदिप बिक र गोरखा जिल्ला  चुमनुब्री गाउँपालिका-६ का ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन्।

रसुवाको केरुङ नाका हुदै भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेश गरेको  गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको टोलीले सोमबार  काठमाडौँको नरदेवीबाट भन्सार छली गरेर  ल्याइएको सुनसहित उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट १३,९१,१६० रुपियाँ बराबरको सुन पनि  बरामद गरेको छ।

 पक्राउ परेका उनीहरुलाई  आवश्यक अनुसन्धान तथा कारबाहीको लागी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्