एमालेलाई खरानी बनाउनु पर्छ भनेर विभिन्न शक्ति लागेका छन् : केपी ओली 



काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीले  नेकपा  एमालेले लिएका विचार र नीति उत्कृष्ट, अतुलनीय र श्रेष्ठ भएका बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेका विचार महान् भएकोले ती महान् विचारलाई पछार्नु पर्छ र सिद्ध्याउनु पर्छ भनेर विभिन्न शक्ति लागेको बताए।

एमालेलाई खरानी बनाएर हावामा उडाउनु पर्छ वा पानीमा बगाएर समाप्त गर्नुपर्छ भनेर ती शक्ति लागेका ओलीले टिप्पणी गरे।
एमाले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा गरेर जानुपर्छ भन्ने मान्यतामा रहेको ओलीले बताए। ‘उनीहरू सिद्ध्याउने भन्छन्, हामी सहकार्य गर्नुपर्छ भन्छौँ’, ओलीले भने।

अध्ययन र क्रियाशीलतामा नेकपा एमालेका नेता कार्यकर्ता अब्बल हुनुपर्नेमा उनले जोड दिए। अध्ययन र क्षमतामा पछि पर्ने नेता कार्यकर्ता स्वतः पछाडि पर्ने उनको भनाइ थियो।

ओलीले पार्टीको काम नगर्ने तर आफू भन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्ट्याटस लेख्ने गरेको भन्दै नेता कार्यकर्तामा गलत क्रियाकलाप विकास भएको बताए। उनले गलत स्ट्याटस लेख्ने पार्टी सदस्यलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए।

उनले विमति भए पार्टी भित्रका कमिटीमा छलफलमा ल्याउन आग्रह गरे। आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै लख्न उनले निर्देशन दिए। ‘कमिटीमा छलफल गर्नुस्, बाहिर किन स्ट्याटस लेख्नुहुन्छ ?’, उनले प्रश्न गरे।

उनले अहिले नेपालको राजनीतिमा नयाँ भनिएकाहरू प्रतिस्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको अवस्थामा रहेका बताए। ओलीले नयाँ पार्टीहरू नयाँ चित्र बनाउँछौँ मात्रै भन्ने तर चित्र के बनाउने भन्ने नै थाहा नभएका बताए। ‘नयाँ पार्टी विचारले नयाँ छैनन्‚ विचारमा केही पनि छैन’, ओलीले भने।

विचारमा कुनै नयाँपन नरहेकाले नेकपा एमालेले गरेका कामको नक्कल गरिरहेका उनले बताए। ‘यी गुलिया, मिठा, उल्टापाल्टा कुरा गर्छन्, नयाँहरू हाम्रा चित्र हेरेर रङ कसरी प्रयोग गरिन्छ, रङ संयोजन कसरी हुन्छ, हेर्न खोज्दै छन्’, उनले भने।

अहिले एमाले बाहेक कुनै पनि पार्टीसँग नीति र विचार नभएको ओलीले बताए। उनीहरू एमालेको नीति र विचार भत्काएर यो हाम्रो मौलिक नीति र विचार हो भनेर भ्रमित बनाउने काममा लागेका ओलीले टिप्पणी गरे।

नेपाली का‌ंग्रेस यथास्थितिवादी पार्टी भएकोले का‌ंग्रेस थाेत्राे मात्र होइन पत्रु पार्टी भएको उनले दाबी गरे। त्यसैले का‌ंग्रेसले सङ्गठन निर्माणको लागि केही काम गर्नु नपर्ने ओलीको भनाइ छ। ओलीले पुँजीवादले सैद्धान्तिक हिसाबले हारिसकेको बताए।

एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा ठुलो जनलहर रहेको उनले बताए। सो अभियानको क्रममा वाग्मती प्रदेशले खेलको भूमिका निक्कै सराहनीय भएको भन्दै ओलीले प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्