मौरीले टोकेर प्रअसहित आठ बालबालिका घाइते



 नवलपरासी। 

पूर्वी नवलपरासीमा मंगलबार मौरीले टोकेर विद्यालयका प्रधानाध्यापकसहित ८ बालबालिका घाइते भएका छन् ।
कावासोती नगरपालिका वडा नम्बर १६ डण्डा स्थित जनता माध्यमिक विद्यालय सहिद नगरका बालबालिकालाई खाग प्रजातिको मौरीले टोकेर घाइते बनाएको हो।

विद्यालय व्यवस्थापन समिति तथा सोही वडाका अध्यक्ष आनन्द श्रेष्ठका अनुसार बिहानको प्रार्थना सकेर कक्षा कोठा तर्फ जाँदै गरेका बालबालिकालाई एक्कासि मौरीले आक्रमण गरेको थियो ।बालबालिकालाई मौरीले आक्रमण गरेपछि बचाउका लागि गएका प्रधानाध्यापक मेघराज बस्नेतलाई पनि खागले टोकेको श्रेष्ठले बताए ।

उनका अनुसार माैरीकाे टोकाइमा पर्नेहरुमा विद्यालयको कक्षा २ मा अध्ययनरत छात्राहरू मनकुमारी परियार, रन्जिता थापा मगर कक्षा ३ का छात्र विष्णु खनाल र सौरभ श्रेष्ठ रहेका छन् ।
यस्तै  कक्षा ४ का छात्राहरू चनमती मास्की मगर, रोजिना बाेहाेरा,समन परियार र छात्र १० वर्षका अर्चन पौडेललाई खागले टोकेको छ  ।

घाइते बालबालिकालाई तत्कालै नजिकै रहेको मध्यविन्दु अस्पतालमा भर्ना गरेर उपचार गरिएकाे र खतरामुक्त भए पछि उनीहरूलाई घर पठाइएको वडाध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार विद्यालय नजिक खानेपानी टंकी रहेको र सोही टंकीमा बस्ने खागलाई चराले जिस्काई दिँदा रिसाएका खाग बालबालिकामाथि खनिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्