वन रक्षकमाथि चितुवाको आक्रमण



कञ्चनपुर ।

कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ।

डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।

चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। थापाको हातमा चोट लागेको छ। थापा जमदारका रुपमा गोही, सर्प जस्ता वन्यजन्तुको उद्दारको काम गर्दै आएका थिए।

उनलाई आक्रमण गर्ने चितुवालाई चार दिन अघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृती सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्दार गरिएको थियो। अहिले चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय महेन्द्रनगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्