लमजुङ प्रहरीद्वारा अफिम खेती गर्ने एक युवक पक्राउ



लमजुङ ।

लमजुङ प्रहरीले लागु औषध (अफिम) खेती गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । अवैध रुपमा अफिम खेती गरीरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मध्यनेपाल ३ सुर्यपालबाट मकवानपुर राक्सिराङ गाउँपालिका ८ घर भएका २६ वर्षीय हिमाल लामा थिङलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेका लामासहित उनले लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७.४ ग्राम चोप, चोप निकाल्ने सामाग्री सार्वजनिक गरेको छ ।

लामाले विगत एक बर्षदेखी सुर्यपालमा विष्णु सुवेदीको खेतबारी रेखदेख गरी बस्दै आएको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताए । उक्त जग्गा रेखदेख गर्ने जिम्मा लामालाई दिएर सुवेदी युरोप बसोबास गर्दे आएको प्रनाउ घलेको भनाई छ ।

 पक्राउ परेका लामालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अफिम खेती अन्तर्गत सअनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले जानकारी दिए । अफिमको दाना बाट निस्किने चोपलाई लागू औषधको रुपमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ ।

अफिम खेतिमा २५ बोटसम्म गरेकोमा एकदेखि तिन वर्ष कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने र २५ बोट भन्दा माथिलाई तिन बर्ष देखि १० वर्षसम्म कैद र २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना सजय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्